• TOKHA LIVE

    • २४ फाल्गुन २०८२, आईतवार १६:१४

    महिला सशक्त भए राष्ट्र समृद्धिको मार्गमा अघि बढ्छ : रामचन्द्र पौडेल

    काठमाडौँ, २४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ।
    एक सय १६औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले परम्पराका नाममा समाजमा विद्यमान खराब अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढिरहेको उल्लेख गर्नुभयो। यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम आवश्यक रहेको उहाँले औँल्याउनुभएको छ।
    सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ, त्यसैले यसतर्फ विशेष ध्यान दिन जरुरी छ।”
    संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो।
    लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया तथा राजनीतिसहित राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
    शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “यो दिवसले महिलाको हक, अधिकार, समानता र सशक्तीकरणप्रति संवेदनशील भएर काम गर्न हामी सबैलाई थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस्।”
    महिला अधिकार र लैङ्गिक समानताको प्रवर्द्धनका लागि हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस  मनाइन्छ। यस वर्ष सयुक्त रास्ट्रसंघले तय गरेको ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने आदर्श वाक्यका साथ यो दिवस विश्वभर मनाइँदैछ।
    यस अवसरमा महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण बढाउने, लैङ्गिक असमानता र हिंसा अन्त्य गर्ने तथा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै