• TOKHA LIVE

      TOKHA LIVE

    • २३ फाल्गुन २०८२, शनिबार १५:५९

    काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेललाई प्रदीप पौडेल र ईश्वर पोखरेलको बधाई

    नविना श्रेष्ठ

    काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेललाई विभिन्न दलका नेताहरूले बधाई दिएका छन्।
    नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले आफूलाई पराजित गरेका पोखरेललाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। काठमाडौं–५ मा सस्मित पोखरेलले ३० हजार ७३७ मत प्राप्त गर्दै विजय हासिल गर्दा पौडेलले ९ हजार १५९ मत प्राप्त गरेका थिए।

    फेसबुकमार्फत बधाई दिँदै पौडेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा पोखरेललाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले यस यात्रामा आफूलाई मत र साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै काठमाडौं–५ का जनताको सुखदुःखमा सधैँ साथ रहने प्रतिबद्धता जनाएका छन्। साथै लोकतान्त्रिक प्रक्रियामा सहभागी भएका सबैप्रति धन्यवाद पनि दिएका छन्। नेकपा एमाले उम्मेदवार  ईश्वर पोखरेलले पनि चार हजार सात सय एक मत ल्याएका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले पनि पोखरेलसहित विभिन्न क्षेत्रमा विजयी तथा विजयोन्मुख उम्मेदवारहरूलाई बधाई दिएका छन्।
    पोखरेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सस्मित पोखरेल  लगायत अन्य क्षेत्रका उम्मेदवारहरूलाई बधाई दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको ‘आश्चर्यजनक’ विजय अभियानप्रति शुभकामना व्यक्त गरेका छन्। उनले आगामी दिनमा राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता र अखण्डताको रक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा काम गर्न आग्रह गरेका छन्।
    साथै सुशासन र जनताको हितमा सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले निर्वाचन सम्पन्न गराउन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार क्षेत्र र आम मतदातालाई धन्यवादसमेत दिएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै