काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार पोखरेलले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूलाई पछि पार्दै सानदार जित हासिल गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९ हजार १ सय ४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्। पोखरेल र पौडेलबीचको मतान्तर २१ हजार ५ सय ८८ रहेको छ।
यसैगरी नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल ४ हजार ७ सय १ मतसहित तेस्रो स्थानमा सीमित भए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १ हजार ९ सय २२ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार श्रीराम गुरुङ १ हजार १ सय मतसहित पाँचौं स्थानमा रहेका छन्।

