काठमाडौं २२ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार उनले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे। त्यसैगरी नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत, राप्रपाका उद्धवराज भेटुवालले २९० मत र नेपाल कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) ले २३१ मत प्राप्त गरेका छन्।
खनाल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यससँगै उनी दोस्रो पटक काठमाडौं–६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। विघटित प्रतिनिधिसभामा उनी शालीन र सक्रिय नेताका रूपमा चिनिएका थिए।

