• TOKHA LIVE

    • ६ फाल्गुन २०८२, बुधबार ००:१३

    विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित

    मुम्बई, फागुन ५ । नेपालले आइसिसी टि ट्वान्टी विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै आफ्नो अभियान समापन गरेको हो।
    नेपालले सन् २०१४ पछि विश्वकपको कुनै खेल जितेको पहिलो पटक हो। यस जितसँगै नेपाली क्रिकेट टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनको झलक देखाएको छ।
    दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई १ सय ७१ रनको लक्ष्य पूरा गर्न सहयोग गरे। दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। यो उनकै लगातार दोस्रो अर्धशतक हो।
    ओपनर कुशल भुर्तेल ४३ रनमा, जबकि आशिफ शेख ३३ रनमा क्याच आउट भए। कुशल र आशिफले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै जीतको आधार तयार पारे। कप्तान रोहित पौडेलले १६ रन बनाए।
    स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनायो। ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै टीमलाई राम्रो सुरुवात दिए। तर नेपाली बलिङले दोस्रो हाफमा खेल सम्हालेको थियो।
    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने कप्तान रोहित र कुशल भुर्तेलले समान १ विकेट लिए।
    नेपालले पहिलो पटक विश्वकप खेल्दा २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता १२ वर्षपछि आजको जित नेपालको इतिहासमा नयाँ अध्याय थपेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै