काठमाडौं फागुन २/काठमाडौं क्षेत्र नं. ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँलले “जिते पनि सेवा, हारे पनि सेवा” भन्ने स्पष्ट सन्देशसहित जनतामाझ आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। नेकपा एमाले क्षेत्र नं. ३ को बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उहाँले चुनाव परिणामभन्दा माथि उठेर जनताको सेवामा निरन्तर लागिरहने वाचा गर्नुभयो।
“हामी मोही माग्ने तर ढुङ्ग्रो लुकाउने राजनीति गर्दैनौं, हाम्रो एजेन्डा स्पष्ट छ,” उहाँले भन्नुभयो। शब्दमा मात्रै होइन, काममा देखिने राजनीति गर्ने आफ्नो अठोट उहाँले प्रस्ट पार्नुभयो।
फुयाँलले लामो समयदेखि अड्किएको निजामती ऐन पारित गर्न पहल गर्ने र किसानको अधिकार सुनिश्चित गर्ने कुरा आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो। “नेपालमा जनावरलाई अधिकार छ, तर किसान अझै अधिकारविहीन छन्,” भन्दै उहाँले किसानलाई ढुक्क भएर खेती–किसानी र व्यवसाय गर्न सक्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले रोजगारीमुखी, प्राविधिक र सीपमूलक शिक्षामा जोड दिँदै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना सुनाउनुभयो। क्षेत्रका जनतासँग निरन्तर सुझाव र सल्लाह लिएर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
क्षेत्र नं. ३ मा १३ वडा र कुल ६४ हजार ४२९ मतदाता रहेका छन्। स्थानीय तहका अधिकांश वडामा एमालेले बहुमत प्राप्त गरिसकेको दाबी गर्दै उहाँले यसपटक पनि जनताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो।
आफू २९ वर्षदेखि देश र जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै फुयाँलले क्षेत्र नं. ३ का बासिन्दासँग हातेमालो गर्दै अघि बढिरहेको बताउनुभयो। “जिते पनि देशको सेवा गर्नेछु, हारे पनि देशको सेवा गर्नेछु,” उहाँले पुनः दोहोर्याउनुभयो।
क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यले काग, बाघ र पिपल उद्यान स्थापना, सम्पदा संरक्षण अभियान, खोला–पोखरी संरक्षणजस्ता कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो।
राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा एमाले सधैं दृढ रहेको उल्लेख गर्दै उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा गर्न मतदातासँग समर्थनको अपिल गर्नुभयो। भ्रष्टाचार न्यूनीकरण, पर्यटन, शिक्षा, स्वास्थ्य र जलस्रोत विकासलाई प्राथमिकतामा राख्दै पुर्खाले निर्माण गरेका सम्पदाको संरक्षणसँगै आयआर्जन बढाउने आफ्नो सोच रहेको उहाँले स्पष्ट पार्नुभयो।

