• TOKHA LIVE

    • १ फाल्गुन २०८२, शुक्रबार ०६:०७

    महाशिवरात्रि सेवा शिविर २०८२ का लागि तयारी पूरा, जिम्मेवारी बाँडफाँट सम्पन्न

    नविना श्रेष्ठ
    माघ २९ , २०८२ | काठमाडौँ
    महाशिवरात्रिको पावन अवसर नजिकिँदै गर्दा पशुपति क्षेत्र पुनः एकपटक लाखौँ श्रद्धालु भक्तजनको स्वागतका लागि तयारीमा जुटेको छ। यही भीडभाडलाई व्यवस्थित र सहज बनाउन प्रत्येक वर्ष झैँ यस वर्ष पनि नेपाल स्काउटले सेवा शिविर सञ्चालन गर्ने भएको छ। सोही क्रममा सेवा शिविर २०८२ का लागि आवश्यक छलफल तथा जिम्मेवारी बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको छ।
    काठमाडौँ महानगरपालिकाको आयोजनामा हुने उक्त सेवा शिविरबारे विस्तृत तयारी बैठक नेपाल स्काउट केन्द्रीय कार्यालय, लैनचौरमा सम्पन्न भएको हो। बैठकमा स्काउट लिडर, स्काउटर, रोभर र रेञ्जरहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
    महाशिवरात्रि सेवा शिविरका क्याम्प चिफ स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिमखडाको नेतृत्वमा कार्यक्रम अघि बढाइएको थियो। सह–क्याम्प चिफका रूपमा काठमाडौँ महानगरपालिकाकी शैक्षिक पद्धति आयुक्त मुना तामाङ सहभागी हुनुहुन्थ्यो। साथै केन्द्रका निर्देशक अर्पण कार्की, राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक, रोभर लिडर तथा रेञ्जर लिडरहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

    बैठकमा स्वयंसेवक परिचालन, भीड व्यवस्थापन, प्राथमिक उपचार, हराएका व्यक्तिको खोजी तथा सूचना प्रवाहजस्ता विषयमा जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरिएको थियो। पशुपति विकास कोष सँग भएको स्वयंसेवक परिचालनसम्बन्धी बैठकबारे रञ्जनलाल श्रेष्ठले जानकारी गराउँदै सेवा शिविरलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    महाशिवरात्रि केवल धार्मिक आस्था मात्र नभई सेवा, अनुशासन र समर्पणको पर्व पनि हो। भक्तजनलाई सहज दर्शन गराउन स्काउटका युवा स्वयंसेवकहरू पुनः एकपटक सेवा भावका साथ तयार देखिएका छन्। यस वर्षको शिविरले पनि पशुपति क्षेत्रमा अनुशासित, सुरक्षित र व्यवस्थित वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै