काठमाडौँ, माघ २९। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमै बिना क्षति लक्ष्य पूरा गर्दै सशक्त जित हात पारेको हो।
इटालीका लागि एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित शतकीय साझेदारी गर्दै नेपालको बलिङ आक्रमणलाई दबाबमा राखे। एन्थोनीले ६२ रन बनाउँदा जस्टिनले ६० रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमै समेटिएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० तथा दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे। करण केसी १८ रनमा अविजित रहे।
इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट हात पारे। जसप्रित सिंह र जे–जे स्मट्सले समान १–१ विकेट लिए।
समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाल पहिलो खेलमा इङ्ग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। लगातार दुई हारसँगै नेपालको सुपर एट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।
उता इटालीले भने प्रतियोगितामा पहिलो जित दर्ता गर्दै समूहमा पुनरागमन संकेत दिएको छ। इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।

