• TOKHA LIVE

    • २७ माघ २०८२, सोमबार १७:०४

    स्कटल्यान्ड ७३ रनले विजयी

    काठमाडौँ, २६ माघः आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ।
    भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो। इटालीका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेल्दै ३१ बलमा एक छक्का र पाँच चौकासहित ५२ रन बनाए। साथै ह्यारी मनान्तीले ३७, जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन जोडे।
    स्कटल्यान्डको जितमा मिचेल लिस्कले चार विकेट लिए भने मार्क वाटले दुई विकेट हात पारे। त्यस्तै ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक–एक विकेट लिए।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो। स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रन बनाए। ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए। त्यस्तै माइकल लिस्कले २२ र रिची बेरिङ्टनले १५ रन जोडे।
    स्कटल्यान्ड र इटाली नेपालसहित समूह ‘सी’मा रहेका छन्। यस समूहमा वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन्। विश्वकपमा स्कटल्यान्डको यो दोस्रो खेल हो। यसअघि स्कटल्यान्ड वेस्टइन्डिजसँग पराजित भएको थियो भने इटालीको यो पहिलो खेल हो। समूह ‘सी’ अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै