काठमाडौँ, २६ माघः निर्वाचन आयोगले आम मतदातालाई मतदानबारे सचेत बनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा अघि बढाएको छ। डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतना सामग्री सम्प्रेषण भइरहेको छ भने वडास्तरमा पनि विशेष कार्यक्रम सञ्चालन भइरहेको छ।
हरेक स्थानीय तहका वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ। बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेवक वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट चयन हुने स्वयंसेवकहरूले मतदाता शिक्षामा योगदान दिनेछन्।
सरकारी सञ्चारमाध्यम र नियामक निकायहरूसँग सम्झौतासमेत भईसकेको छ। आयोगले मतदाता शिक्षाले मतदान प्रक्रिया बुझ्न, मतसङ्केत र मिथ्या सूचना छुट्याउन सहयोग पुग्ने र स्वतन्त्र, निष्पक्ष निर्वाचन सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने छ, जसमा प्रत्यक्ष प्रणालीमार्फत १६५ र समानुपातिक प्रणालीमार्फत ११० सांसद चयन हुनेछन्।

