टाेखा काठमाडौँ माघ २५ । टाेखा नगरपालिका वडा ३ स्थित एन्जल्स पाराडाइज स्कुलमा रोबोटिक्स, विज्ञान तथा शैक्षिक प्रदर्शनी ‘रोबो जात्रा २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनीमा रोबोटिक्स, विज्ञान तथा नवीन शैक्षिक परियोजनाहरू प्रस्तुत गरिएका थिए।

प्रदर्शनीको उद्घाटन रोबोटको माध्यमबाट पानसमा दियो बालेर विद्यालयका प्रिन्सिपल रामकृष्ण डंगोलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रदर्शनीबारे जानकारी दिँदै प्रिन्सिपल डंगोलले अत्याधुनिक युग र कृत्रिम बुद्धिमत्ता (AI) को पुस्तामा यस्ता शैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, अनुसन्धानशील सोच तथा व्यवहारिक ज्ञान विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भविष्यमा पनि विज्ञान, प्रविधि र नवयुवालाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका रोबोटिक्स शिक्षक खगेन्द्र शेरचनले प्रदर्शनीले विद्यार्थीहरूमा सिर्जनात्मक सोच र प्रविधिप्रतिको उत्साह बढाउने तथा उनीहरूलाई भविष्यका वैज्ञानिक र प्राविधिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो। त्यसैगरी रोबोटिक्स शिक्षिका दृष्टि सिलवालले पाठ्यक्रममा आधारित शैक्षिक सामग्री तथा प्रयोगात्मक प्रदर्शनीहरूले विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, आत्मविश्वास र नवप्रवर्तनशील सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

प्रदर्शनीमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा आधारित रोबोटिक्स, विज्ञान, नवप्रवर्तन तथा अनुसन्धानसम्बन्धी शैक्षिक गतिविधिहरू प्रस्तुत गरेका थिए, जसको अध्यापन डिजिस्कुल ग्लोबलका प्रमुख शैक्षिक रणनीतिकार दृष्टि सिलवालले गर्दै आउनुभएको छ।

त्यस्तै कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू अमिका एकेडेमी अफ इनोभेसनका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र शेरचनको अध्यापनमा तयार गरिएको थियो।
प्रदर्शनीमा विद्युतीय कार गेम, रेसिङ कार, विद्युतीय ढोका लक, ताली बजाएर बत्ती बाल्ने तथा निभाउने मेसिन, सोलार प्रणालीबाट लुगा सुकाउने उपकरण, कुहिने र नकुहिने फोहर छुट्याउने मेसिन, सेनिटाइजेसन मेसिन, मुटुको धड्कन नाप्ने उपकरण, पानीको ट्यांकी भरिनुअघि सायरन बज्ने प्रणाली, भूकम्पका बेला सायरन बज्ने उपकरण, सडकमा जडान गरी गाडीको गति नाप्ने मेसिन, विभिन्न खेल खेल्न मिल्ने उपकरण तथा ड्रोनहरू प्रदर्शित गरिएको थियो।
एन्जल्स पाराडाइज स्कुलले औपचारिक शिक्षासँगै आध्यात्मिकता, विज्ञानआध्यात्मिक सिद्धान्त, योग कक्षा, खेलकुद, आफ्नै फुटसल मैदान, चित्रकला, नृत्यकला तथा उद्यमशीलता सीपहरूको संयोजनमार्फत अद्वितीय शैक्षिक अनुभव प्रदान गर्दै आएको छ। विद्यालयले व्यावहारिक प्रयोग, अन्तरक्रियात्मक पाठ र उन्नत स्रोतमार्फत विद्यार्थीहरूमा जिज्ञासा र नवप्रवर्तनशील सोच विकास गर्दै परिवर्तनशील संसारका लागि तयार पार्ने लक्ष्य लिएको जनाएको छ।
प्रदर्शनीमा प्रस्तुत विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा प्रयोगात्मक सामग्रीहरूलाई विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले उत्साहपूर्वक अवलोकन गरेका थिए। विद्यार्थीहरूले आफ्नै परियोजना प्रस्तुत गर्दा अभिभावक तथा आगन्तुकहरू विशेष रूपमा आकर्षित भएका थिए।


