• TOKHA LIVE

    • २५ माघ २०८२, शनिबार १०:४७

    नेपाली चलचित्रका ‘राते काँइला’ सुनिल थापा अब स्मृतिमा मात्र

     

    काठमाडौं माघ २४: नेपाली चलचित्र क्षेत्रले एक सशक्त, निर्भीक र पृथक् पहिचान बनाइसकेका कलाकारलाई गुमाएको छ। वरिष्ठ कलाकार सुनिल थापाको निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र उद्योगसमेत शोकाकुल बनेको छ। पर्दामा देखिने उनको कठोर, विद्रोही र कहिलेकाहीँ निर्दयी पात्रभित्र लुकेको कलाकारिता, अनुशासन र समर्पण आज नेपाली सिनेमाको अमूल्य धरोहरका रूपमा स्मरणीय रहनेछ।
    नेपाली चलचित्र चिनोमा ‘राते काँइला’ नामले चिनिएका सुनिल थापा खलनायक मात्र थिएनन्, उनी कथाका मेरुदण्ड थिए। उनले निभाएका पात्रहरूले फिल्मलाई गति, गहिराइ र विश्वसनीयता दिएका छन्। सीमित संवाद, तीखा आँखा र प्रभावशाली उपस्थितिमार्फत दर्शकको मानसपटलमा गहिरो छाप छोड्नु उनको विशेषता थियो। यही कारण उनी पुस्तौँसम्म सम्झिइने कलाकारको सूचीमा पर्छन्।
    नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा सक्रिय रहँदै उनले अभिनयलाई पेशा मात्र होइन, साधनाका रूपमा प्रस्तुत गरे। उनको हिन्दी फिल्म मेरि कोमले पनि एक सशक्त कलाकार भनेर प्रमाणिात गरेसकेका छन् ।

    चमकधमकभन्दा टाढा बसेर कामप्रति इमानदार रहनु उनको जीवनशैली थियो। पर्दाभन्दा बाहिर कम बोल्ने तर पर्दामा अत्यन्त सशक्त देखिने कलाकारको रूपमा उनी सहकर्मी र दर्शक दुवैका लागि प्रेरणा थिए।
    आज सुनिल थापा हामीमाझ छैनन्, तर उनले सिर्जना गरेका पात्र, संवाद र दृश्यहरू जीवित छन्। नेपाली चलचित्र उद्योगले एउटा अनुभवी स्तम्भ गुमाएको छ, जसको रिक्तता सजिलै भरिन सक्दैन।
    सुनिल थापा एक कलाकार, जो कहिल्यै पर्दाबाट ओझेल पर्दैनन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै