काठमाडौँ, १९ माघ / भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा केवल सञ्चारको साधन मात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक विनिमयको महत्वपूर्ण माध्यमसमेत भएको बताउनुभएको छ।
मातृभाषामा शिक्षासम्बन्धी सिफारिस २०८२ र अन्तरराष्ट्रिय मातृभाषा दशक (२०२२–२०३२) अन्तर्गत तयार पारिएको राष्ट्रिय कार्ययोजनाबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले भाषालाई ‘कमाइ खाने भाँडो’का रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष ठाकुरले भाषाको सबलीकरणका लागि राज्यले स्पष्ट नीति र पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै सरकारी कामकाजको भाषा र मातृभाषाबीच सन्तुलन कायम गर्दै दुवैको समानान्तर विकास आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, भाषा आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले विद्यालय तहमा मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्न आयोगले सिफारिस गरेको जानकारी दिनुभयो। उहाँले विद्यालय तथा विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र विषय दुवैका रूपमा पठनपाठन गर्न शिक्षक तथा प्राध्यापकको क्षमता अभिवृद्धि र आवश्यक जनशक्ति व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा मातृभाषा शिक्षाका लागि भाषा सिफारिस गर्ने, स्थानीय तहमा मातृभाषा जान्ने कर्मचारी राख्ने तथा लोकसेवा आयोगको परीक्षामा मातृभाषामै परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसमक्ष सिफारिस गरेको जनाएको छ।

