• TOKHA LIVE

    • २० माघ २०८२, सोमबार १२:५४

    देश बचाउने जिम्मेवारी एमालेकै काँधमा : ईश्वर पोखरेल

     

    टाेखा, काठमाडौं | माघ १९
    नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष (पूर्व महासचिव) तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई केवल चुनाव नभई जनमत संग्रहको रूपमा व्याख्या गर्नुभएको छ।
    टाेखामा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले फागुन २१ गते हुने निर्वाचन देशको भविष्य तय गर्ने निर्णायक मोड भएको बताउनुभयो। “यो लडाइँ व्यक्ति विशेषको होइन, मुद्धाको हो। देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो,” पोखरेलले स्पष्ट पार्नुभयो।
    आफ्नो उम्मेदवारी पार्टीको तल्लो तहदेखि आएको सुझाव र सल्लाहको परिणाम भएको उल्लेख गर्दै उहाँले चुनौतीका बाबजुद पनि उम्मेदवार बन्नु आवश्यक ठानेर मैदानमा उत्रिएको बताउनुभयो।

    झण्डै ३५ वर्षदेखि धार्मिक तथा सांस्कृतिक सहर टाेखासँग जोडिएर काम गर्दै आएको स्मरण गर्दै पोखरेलले टाेखामा दापा भजन मण्डल, खानेपानी, शिक्षा, यातायात र विकास निर्माणका क्षेत्रमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो। यही कारण यहाँका जनताले साथ र विश्वास दिएको दाबी गर्दै देश बचाउने जिम्मेवारी एमालेकै काँधमा आएको बताउनुभयो ।

    उहाँले यसपटक पनि मतदाताबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभयो। टाेखाका सांस्कृतिक सम्पदाहरू विश्वकै अमूल्य धरोहर भएको बताउँदै पोखरेलले यसको संरक्षण र संवर्द्धन आफ्नो प्राथमिकता रहने प्रतिबद्धता जनाउनुभयो। “म टाेखाकै बासिन्दा हुँ, सधैँ टाेखाको मन र मस्तिष्कमा बसेर यहाँको हितमा काम गर्छु,” उहाँले भन्नुभयो।

    देशको स्वतन्त्रता, अखण्डता र राष्ट्रिय हितमा आफू सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले भन्नुभयो, “देशको अहित हुने कुनै काम मबाट हुँदैन भन्ने वाचा म तपाईंहरूलाई गर्छु।”
    उहाँले नेपाल विभिन्न जात, धर्म र संस्कृतिको सुन्दर मिश्रण भएको देश भएकाले जातीय सद्भाव कायम राख्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। सद्भाव खलबल्याउने तत्वबाट देशलाई जोगाउन सबै सचेत हुनुपर्ने उहाँको आग्रह थियो।

    देशलाई बर्बादीबाट जोगाउन एमाले बलियो हुनुपर्ने उल्लेख गर्दै पोखरेलले अधुरा विकास निर्माणका कामलाई निरन्तरता दिने, भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। एमालेका नेता–कार्यकर्ताबाटै अनियमितता भए कानुनअनुसार कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो।
    काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने टाेखाका सांस्कृतिक तथा धार्मिक क्षेत्रहरू सपनतिर्थ, चण्डेश्वरीलगायत स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो। स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा नेपाल बौद्धिक परिषदका महासचिव डा. दिपेन्द्र श्रेष्ठले चुच्चे नक्साको मुद्दा उठाउन सक्ने एकमात्र पार्टी एमाले भएको उल्लेख गर्दै राष्ट्र र राष्ट्रियताको संरक्षणमा एमाले अग्रपंक्तिमा रहेको बताउनुभयो। सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो।

    नेकपा एमाले कमिटीका सदस्य रमेश डंगोलले नेकपा एमाले देशको स्थिरता, विकास र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढ रूपमा उभिएको पार्टी भएको बताउनुभयो।” डंगोलले जनताको भावना बुझ्ने, जनताको आवश्यकता अनुसार काम गर्ने पार्टी एमाले मात्र भएको उल्लेख गर्नुभयो।”नेकपा एमालेले बोलेको कुरा व्यवहारमा उतार्ने परम्परा बोकेको पार्टी भएकाले जनताको भरोसा अझै बलियो रहेको डंगोलको भनाइ थियो।”एमाले नेतृत्वमा मात्रै देशले विकासको स्पष्ट दिशा पाउने विश्वास व्यक्त गर्दै उहाँले आसन्न निर्वाचनमा एमालेको विजय अपरिहार्य रहेको बताउनुभयो।”

    कार्यक्रममा नेकपा एमाले टाेखा नगरपालिका वडा नम्बर २ का संयोजक राजकाजी डंगोलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नेकपा एमाले टाेखा नगरपालिका वडा नम्बर ३ का संयोजक सुर्यमान डंगोलको अध्यक्षतामा भएको कार्यक्रम वडा नम्बर २ की सचिव सुशीला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा टाेखा नगरपालिका वडा नम्बर २ मा राजकाजी डंगोलको संयोजकत्वमा ५१ सदस्यीय तथा वडा नम्बर ३ मा सुर्यमान डंगोलको संयोजकत्वमा १२५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो।कार्यक्रममा एमालेका प्रदेश तथा नगरस्तरीय नेताकार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै