टाेखा काठमाडौँ १९ माघ । टोखा नगरपालिकाले नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकका दायाँ–बायाँ रहेका फुटपाथमा पसल थाप्ने, ठेलागाडा राख्ने, अव्यवस्थित पार्किङ गर्ने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नगरपालिकाका अनुसार सडक तथा सार्वजनिक स्थानमा यसरी सामग्री राखिँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुनुका साथै सडक दुर्घटनाको जोखिम बढेको छ। साथै, जथाभावी रूपमा राखिएका सामानले शहरको सौन्दर्यमा समेत असर पुर्याएको नगरपालिकाको भनाइ छ।
यसै कारण, टोखा नगरपालिकाले फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण नगर्न सबै व्यवसायी, ठेलागाडा सञ्चालक र सर्वसाधारण नागरिकलाई सचेत गराउँदै सूचना जारी गरेको हो। नगरपालिकाले नियम विपरीत गतिविधि जारी रहेमा प्रचलित कानुनअनुसार कारबाही तथा जरिवाना गरिने पनि स्पष्ट पारेको छ।
नगरपालिकाले सबैको सहकार्यले मात्रै व्यवस्थित, सुरक्षित र सुन्दर टोखा निर्माण सम्भव हुने उल्लेख गर्दै नियमको पालना गर्न सबैसँग सहयोगको अपेक्षा गरेको छ।
सूचना ।


