• TOKHA LIVE

      TOKHA LIVE

    • ६ माघ २०८२, सोमबार ११:३६

    हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार, नयाँ वर्ष २८६२ सुरु

    काठमाडौँ, ५ माघ /तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन्। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। यस वर्ष सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको छ।
    सोनाम ल्होसार १२ वर्षे चक्रअनुसार मनाइन्छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरको नामका वर्षहरू पर्छन्। अनुसन्धानकर्ता टीका शेर्पाका अनुसार यी वर्षहरू पशुपन्छीको नाममा आधारित भएकाले ल्होसार प्रकृतिपूजक पर्वको रूपमा पनि महत्वपूर्ण छ।
    वाग्मती प्रदेशका विभिन्न जिल्लामा तामाङ जातिको बाहुल्यता भएका स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ। यस अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेको छ भने नेपाल तामाङ घेदुङले टुँडिखेलमा तीन दिनसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेको छ। राजधानीको स्वयम्भू क्षेत्रमा पनि कार्यक्रमका साथ पर्व मनाइनेछ।
    करिब चार हजार ७०० वर्ष पुरानो मानिने सोनाम ल्होसार नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरमा पनि मनाइन्छ। नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा र केही शेर्पा समुदायले समेत यो पर्व मनाउँछन्।
    टुँडिखेलमा आयोजना गरिएको ल्होसार महोत्सव अन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति हुने मूल समारोह समितिले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै