नविना श्रेष्ठ
नागार्जुन, माघ २।
नागार्जुन नगरपालिकामा स्थानीय स्काउट कार्यालयको आयोजनामा नेपाल स्काउटको बि.टि.सी (बेसिक ट्रेनिङ कोर्स) तथा पि.टि.सी (प्रिलिमिनरी ट्रेनिङ कोर्स) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
पाँच रात र छ दिनसम्म सञ्चालन गरिएको ६२१ र ६२२ औँ बि.टि.सी तथा ४६० र ४६१ औँ पि.टि.सी तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई नेतृत्व विकास, अनुशासन, इमान्दारिता र सेवाभावजस्ता जीवनोपयोगी मूल्यहरूमा केन्द्रित गराइएको थियो। तालिममा सहभागीहरूले यस्तो प्रशिक्षण व्यक्तिको जीवन निर्माणका लागि अत्यन्त आवश्यक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।
तालिमको बोइज कोर्सतर्फ कोर्स लिडरका रूपमा द्रोही प्रमोद सिग्देल र सुरेवर सिंह थापा रहनुभएको थियो भने गर्ल्स कोर्सतर्फ सुभद्रा क्षेत्री र जमुना शर्माले नेतृत्व गर्नुभएको थियो।
त्यसैगरी काउन्सलरका रूपमा नविना श्रेष्ठ, सपना श्रेष्ठ, रिजना श्रेष्ठ, पवित्रा पुरी, जोशना खड्का, दीपेश थापा, रामप्रसाद पाण्डे, आनन्द आले मगर, विशाल बलामी, गोपाल नेपाली र मिनबहादुर लामाले प्रशिक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
तालिमको समापन समारोहमा बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। विशेष अतिथिका रूपमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय परिषद् सदस्य कृष्ण चालिसे रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नागार्जुन नगरपालिकाका स्थानीय आयुक्त सुरेवर सिंह थापाले गर्नुभएको थियो।
यस्ता तालिमले युवाहरूमा जिम्मेवारीबोध, आत्मविश्वास र सेवाभाव विकास गर्दै समाज रूपान्तरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


