• TOKHA LIVE

    • ४ माघ २०८२, शनिबार १४:०८

    समृद्ध बहुउद्देश्यीय सहकारीको पाँचौँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

    आर्थिक अनुशासन र सदस्यको विश्वासले सहकारी सुदृढ बन्दै

    टोखा, काठमाडौँ, २ माघ / टोखा नगरपालिका वडा नं. ६, ग्राण्डीचोकमा अवस्थित समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा शनिबार भक्तपुरको घ्याम्पे डाँडामा सम्पन्न भएको छ।
    कार्यक्रमको उद्घाटन टोखा नगरपालिका वडा नं. ३ का वडा सदस्य हरिकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। पाँचौँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रममा डा. रोहन पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण अर्याल, संस्थाका ज्येष्ठ नागरिक मंगलदास महर्जनलगायत पदाधिकारी तथा सम्पूर्ण शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    संस्थाका अध्यक्ष विकास महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीको स्थापना यात्रादेखि हालसम्मका उपलब्धि, आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूबीचको विश्वासले संस्थालाई सुदृढ बनाउँदै लगेको विषयमा विस्तृत चर्चा गरिएको थियो।
    कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामचन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कोषाध्यक्ष पञ्च डंगोलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष महर्जनले सहकारीलाई सदस्यहरूको भरोसाको केन्द्रका रूपमा विकास गर्दै सामाजिक तथा आर्थिक समृद्धिमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    साधारण सभामा आगामी कार्ययोजना, प्रगति विवरण तथा भावी लक्ष्यहरू प्रस्तुत गर्दै सहकारीको उज्ज्वल भविष्यका लागि सबै सदस्य एकताबद्ध भएर अघि बढ्ने संकल्प गरिएको थियो। कार्यक्रममा समृद्ध सहकारीले स्थानीय समुदायको आर्थिक सबलीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि उत्तरदायी, पारदर्शी र विश्वासिलो संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
    संस्थाका पदाधिकारीहरूका अनुसार वित्तीय अनुशासन, सुशासन र पारदर्शिता नै समृद्ध सहकारीको मूल आधार हो। सदस्यहरूको बचत सुरक्षित राख्दै जिम्मेवार कर्जा प्रवाहमार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउने लक्ष्यसहित सहकारी अघि बढिरहेको जनाइएको छ।
    समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टोखामा आत्मनिर्भरता, विश्वास र सहकार्यको सशक्त प्रतीकका रूपमा स्थापित हुँदै गएको सहभागीहरूले बताएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै