काठमाडौँ, ३० पुसः आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा सुरुआती अग्रता भने श्री भगवती क्लबले लिएको थियो। भगवतीका हरिहर बूढामगरले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
खेलको ६५औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका कप्तान एरिक विष्टले बराबरी गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो। त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क जोडेका छन्।
यसै मैदानमा आजै सम्पन्न अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबलाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटो युवा क्लब र सङ्कटा एफसीबीच बिहान ११ बजे प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे लालीगुराँस एशोसिएसन र जावलाखेल युवा क्लब आमनेसामने हुनेछन्।

