टोखा, पुस २७ ।
टोखाको सांस्कृतिक पहिचान र परम्परालाई निरन्तर जगेर्ना गर्दै आएको श्री इन्द्रायणी दापा खलको पाँचौँ अधिवेशन आइतबार टोखा नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक इन्द्रायणी पिगं द्य मन्दिर परिसरमा सम्पन्न भएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा नाति डंगोललाई पुनः अध्यक्षमा चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा सुमिता महर्जन, सह–सचिवमा रजनी डंगोल, कोषाध्यक्षमा भख्यसी डंगोल तथा सह–कोषाध्यक्षमा सुकुनारायण डंगोल चयन हुनुभएको छ।
यस्तै, सदस्यहरूमा रमेश डंगोल, कबिन्द्र महर्जन, विश्वराज लवत, भख्यसी डंगोल र आशाकाजी डंगोल चयन भएका छन्।अधिवेशनको उद्घाटन प्रमुख अतिथि टोखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले दीप प्रज्वलन गरी गर्नुभएको थियो।

गुरु तथा संस्कृतिकर्मी सम्मानित
अधिवेशनको अवसरमा दापा खलका विभिन्न गुरु तथा संस्कृतिकर्मीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने गुरुहरूमा चन्द्रमान डंगोल, सानुबाबु डंगोल, भाइलाल डंगोल, नाति डंगोल, आशाकाजी डंगोल, कृष्णलाल लवत, भख्योसिह डंगोल, भख्योसिह (रामकृष्ण) डंगोल, भिन्देव डंगोल नाति, डंगोल र सुकुनारायण डंगोल रहनुभएको छ।
खललाई दुई पटक बासुरी प्रशिक्षण दिएर महत्वपूर्ण योगदान पुर्याउनुभएका बासुरी प्रशिक्षक गुरु प्रकाश डंगोललाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै टोखाको लाखे नाचमा पौराणिक कथा झल्कने नृत्य प्रस्तुत गर्ने सूर्यमान डंगोल, खिँ बाजा वादन गर्ने रिजन डंगोल र आदेश डंगोल, थ्यासफु गायनमा दीपेन्द्र श्रेष्ठ, भोज तथा भान्छा व्यवस्थापनमा योगदान पुर्याउने रमेश डंगोल र कविन्द्र महर्जनलाई पनि सम्मान गरिएको थियो।
दापा खललाई नगद रु. २५ हजार सहयोग गर्नुहुने जनप्रतिनिधि हरिकृष्ण श्रेष्ठलाई समेत सम्मान प्रदान गरिएको छ।
महिला नयाँ बासुरी समूह सम्मानित
कार्यक्रममा महिला नयाँ बासुरी समूहका सदस्यहरू सुमिता महर्जन, रजनी डंगोल, सुकुमाया डंगोल, सानुमाया डंगोल, सबिता महर्जन, नन्जिता थापा डंगोल, बुद्धलक्ष्मी डंगोल, अनिता महर्जन, सीता श्रेष्ठ र देनिशा (रोजी) श्रेष्ठ डंगोललाई सम्मान गरिएको थियो।
साथै टोखाको स्थानीय सूचना तथा सञ्चार माध्यम टोखालाइभ डट कमलाई पनि सम्मान प्रदान गरिएको थियो। सम्मान पत्र अतिथि टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले वितरण गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथि टोखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले इन्द्रायणी दापा खल टोखाको सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै खलको आफ्नै भवन निर्माणका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परम्परागत कला जगेर्नाका लागि संरचना, अभ्यास स्थल र युवा सहभागिता अनिवार्य रहेको बताउँदै वडा सधैं खलसँग सहयात्री रहने स्पष्ट पार्नुभयो।
टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले टोखालाई सांस्कृतिक रूपमा जीवित सहर बनाइराख्न दापा खलहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले इन्द्रायणी दापा खलले संस्कृतिको संरक्षणसँगै सामाजिक एकता मजबुत बनाउँदै आएको उल्लेख गर्दै निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।
सम्पदा दबुका अध्यक्ष मनिराज डंगोलले दापा नाच टोखाका धार्मिक तथा सांस्कृतिक सम्पदासँग गहिरो रूपमा गाँसिएको बताउँदै यस्ता गुथी र दापाखल: भजन खलहरूले टोखाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने आधार तयार गरिरहेको धारणा राख्नुभयो।
नेवागुथी टोखाका अध्यक्ष रमेश नापितले गुथी प्रणाली नेवार संस्कृतिको मेरुदण्ड भएको उल्लेख गर्दै इन्द्रायणी दापा खलजस्ता संस्थाले परम्परागत ज्ञान, अनुशासन र सामूहिक भावना पुस्तान्तरण गरिरहेको बताउनुभयो। उहाँले खलको भवन निर्माण र संस्कृतिमा निरन्तर लाग्ने व्यक्तिहरूको संरक्षण आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
मूल नायो हेमराज श्रेष्ठले इन्द्रायणी दापा खल टोखाको सांस्कृतिक आत्मासँग जोडिएको संस्था भएको उल्लेख गर्दै दापा नाच केवल प्रस्तुति नभई संस्कार, अनुशासन र सामूहिक चेतनाको प्रतीक भएको बताउनुभयो। उहाँले गुरु–शिष्य परम्परालाई मजबुत बनाउँदै दापाको मौलिकता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
यस्तै, अतिथि टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले इन्द्रायणी दापा खलले टोखाको समग्र कला, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म निरन्तर हस्तान्तरण गर्दै आएकोमा प्रशंसा गर्नुभयो। उहाँले दापा भजन नेवार समुदायको जीवनशैली र सामूहिकताको प्रतीक भएको उल्लेख गर्दै संस्कृतिमूलक गतिविधिमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
सचिव सानुराज डंगोलले सञ्चालन गर्नुभएको कार्यक्रममा नेवागुथी टोखाका महासचिव हेरकाजी डंगोल, सगरमाथा आरोही सजन डंगोल, पिगं द्य दापा खलका गुरु कान्छा श्रेष्ठ, चण्डेश्वरी दापा खलका अध्यक्ष धर्मराज श्रेष्ठ, चण्डेश्वरी भजन खलका गुरु श्यामकृष्ण श्रेष्ठलगायत गुरुजन, पूर्व अध्यक्ष, पदाधिकारी, स्थानीय बासिन्दा, संस्कृतिकर्मी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनले इन्द्रायणी दापा खलको संगठनात्मक सुदृढीकरणसँगै टोखाको सांस्कृतिक अभियानलाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष नाति डंगोलले कार्यक्रम समापन गर्नुभयो।

