
टाेखा काठमाडौं, १८ पौष
काठमाडौंको ऐतिहासिक सहर टोखा नगरपालिका वडा २ मा अवस्थित ऐतिहासिक तथा धार्मिक चण्डेश्वरी मन्दिरमा शनिबार देखि एकमहिने श्री स्वस्थानी व्रत कथा तथा हरिहर भजन सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ हुने यो धार्मिक मेला एक महिनासम्म सञ्चालन हुनेछ।
हिन्दु परम्परामा विशेष महत्त्व राख्ने टोखा क्षेत्र ३३ कोटी देवतासँग सम्बन्धित मानिन्छ। यहाँ रहेका चौसट्ठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर प्रमुख मानिन्छन्। हाल जोरपाटी नजिक अवस्थित गोकर्णेश्वर महादेवलाई समेत टोखाको प्रसिद्ध तीर्थका रूपमा नेपाल महात्म्यले उल्लेख गरेको पाइन्छ, जसले प्राचीनकालमा टोखाको भौगोलिक फैलावट कति व्यापक थियो भन्ने संकेत गर्दछ।
पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न टोखास्थित पिण्डारक तीर्थमा स्नान गरी चण्डिकेश्वर महादेवको आराधना गरेको वर्णन स्वस्थानी व्रत कथामा पाइन्छ। यसै स्थानमा दक्ष प्रजापतिले यज्ञ गरेको जनविश्वास पनि रहेको छ। यज्ञमा महादेवलाई नबोलाइएकोमा सतीदेवीले अपमान महसुस गरी यज्ञकुण्डमा प्राण त्याग गरेकी थिइन्। त्यसपछि सतीदेवीको देह बोकेर विचरण गर्दै आएका महादेव यही स्थानमा आइपुगेको र यहाँ सतीदेवीको बायाँ स्तन पतन भएपछि चण्डेश्वरी देवी तथा चण्डिकेश्वर महादेवको उत्पत्ति भएको कथन जनश्रुतिमा प्रचलित छ। यही कारण चण्डेश्वरी देवीलाई शिवशक्ति स्वरूपको प्रतीक मानिन्छ।
मन्दिर प्रवेशद्वारको दायाँपट्टि देखिने कालो माटो र यज्ञकुण्डको नमुनालाई सुदर्शन चक्रले यही स्थानमा तपस्या गरेको किवदन्तीसँग जोडेर हेर्ने गरिन्छ। यस धार्मिक आस्थाका कारण काठमाडौं, भक्तपुर र ललितपुर आसपासका क्षेत्रबाट भक्तजनहरू बिहान सबेरै दर्शनका लागि यहाँ आउने गर्दछन्।
टोखा पुग्न जमल घण्टाघर,सहिदगेट,सामाखुसी हुँदै सार्वजनिक सवारीसाधन सहज रूपमा उपलब्ध छन्। छिमेकी बुढानिलकण्ठ र तारकेश्वर नगरपालिकाबाट पैदल यात्रामार्फत पनि करिब एक घण्टामा टोखा पुग्न सकिन्छ।
स्वस्थानी व्रत कथा तथा हरिहर भजन सुरु भएसँगै टोखा नगरका घरघरमा स्वस्थानी वाचन, श्रवण र पूजाआराधनाको क्रम सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने यो पर्वलाई माघ महात्म्यका रूपमा पनि चिनिन्छ।
परम्पराअनुसार हरिहर भजन गाउने समूहका लागि गुथीका संयोजकले बिहान सबेरै शंख बजाउँदै बुढापाका, युवा तथा बालबालिकालाई भजनमा सहभागी हुन निम्तो दिने चलन रहेको छ। स्नान–ध्यानपछि चण्डेश्वरी मन्दिरबाट सुरु हुने हरिहर भजन टोखा नगरको २ र ३ वडामा परिक्रमा गर्दै एक महिनासम्म सञ्चालन हुन्छ। माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाआजा गरी भजनको विसर्जन गरिन्छ र हरिहर भजन गुथी टोखाले सामूहिक भोजको आयोजना गर्ने परम्परा रहेको छ।
हाल यो ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई टोखा नगरपालिका–२ र ३ का स्थानीय युवाहरूको सक्रियतामा निरन्तरता दिइँदै आएको छ, जसले टोखाको धार्मिक पहिचान र सांस्कृतिक विरासतलाई जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
टाेखालाइभ फाइल फाेटाे।


