• TOKHA LIVE

    • १८ पुष २०८२, शुक्रबार २०:१६

    शालीनदीमा श्री स्वस्थानी व्रत बस्ने भक्तालु १७५ पुगे

     

     

    नविना श्रेष्ठ
    साँखु, पौष १८, २०८२।
    भोलिदेखि सुरु हुने श्री स्वस्थानी माता–माधव नारायणको व्रत बस्न शालीनदी क्षेत्रमा भक्तालुहरूको उपस्थिती बढ्दै गएको छ। हालसम्म व्रत बस्नेको कुल सङ्ख्या १७५ पुगेको छ, जसमा १६७ जना महिला र ८ जना पुरुष रहेका छन्।
    नेपाल स्काउट बागमती प्रदेशका सामुदायिक विकास आयुक्त धर्मभक्त मल्लका अनुसार पौष शुक्ल पूर्णिमा अर्थात् पौष १९ गते शनिबारदेखि सुरु हुने श्री माधव नारायण व्रत तथा शालीनदी मेलाका लागि तयारी पूरा भएको छ।
    “जे माग्यो त्यही पूरा हुने, मनले चिताएको इच्छा फलित हुने” जनविश्वासका कारण हरेक वर्षझैँ यस वर्ष पनि श्री स्वस्थानी व्रत बस्ने भक्तजनहरूको उत्साह कम भएको छैन। एक महिनासम्म चल्ने यो व्रतले धार्मिक आस्थासँगै सांस्कृतिक चेतना र आन्तरिक पर्यटनलाई समेत जोड्दै आएको छ।
    साँखु फेदी, शङ्खरापुरस्थित ऐतिहासिक र पवित्र शालीनदी क्षेत्र प्राकृतिक रूपमा मनमोहक मात्र होइन, आस्था र साधनाको केन्द्रका रूपमा समेत चिनिँदै आएको छ। स्वच्छ वातावरण र पवित्र मनका साथ व्रत बस्ने परम्पराले यहाँ आउने भक्तजनलाई आन्तरिक शान्ति र आत्मिक सन्तोष प्रदान गर्ने विश्वास गरिन्छ।
    धर्मग्रन्थअनुसार श्री स्वस्थानी व्रतको महिमा स्वयं महादेवले विष्णु भगवानलाई सुनाउनुभएको थियो। पछि विष्णु भगवानले पार्वती मातालाई एक महिनासम्म व्रत विधि गराई सुनाउनुभएको किवदन्ती छ। यही व्रतको फलस्वरूप पार्वती माताले महादेवलाई पति रूपमा प्राप्त गर्नुभएको जनविश्वास रहिआएको छ। यस व्रतको कथा स्वस्थानी व्रतकथाका अध्यायहरूमा विस्तृत रूपमा वर्णन गरिएको छ।
    नुन नखाई, शुद्ध आचरणमा एक छाक मात्र भोजन गरी बसिने श्री स्वस्थानी व्रतलाई अत्यन्त कठिन व्रतका रूपमा लिइन्छ। व्रतले मानिसलाई पाप र पुण्यको अनुभूति गराउने, सत्य र असत्यको भेद बुझाउने विश्वास पनि समाजमा गहिरो रूपमा बसेको छ।
    भक्तजनहरू भन्छन्। श्री स्वस्थानी माता र माधव नारायणको व्रत केवल कर्मकाण्ड मात्र होइन, आत्मशुद्धि र जीवनको मार्गदर्शन हो। व्रत बसेका मानिसले नै पाप र पुण्यको वास्तविक अर्थ बुझ्न सक्ने उनीहरूको विश्वास छ।
    यसरी आस्था, परम्परा र संस्कृतिको सुन्दर संगम बनेको शालीनदी क्षेत्रमा भोलिदेखि श्री स्वस्थानी व्रत औपचारिक रूपमा सुरु हुँदैछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै