• TOKHA LIVE

    • १७ पुष २०८२, बिहीबार १५:२८

    खोला किनारको मापदण्ड खारेजीको माग गर्दै पीडित सडकमा

    काठमाडौँ, १७ पुस / काठमाडौँ उपत्यकाका खोला र सडक किनारमा बसोबास गर्दै आएका सर्वसाधारणले आफूहरूलाई विस्थापित बनाउने खोला मापदण्ड खारेजीको माग गर्दै आज प्रदर्शन गरेका छन्।
    माइतीघर मण्डलामा भेला भएका पीडितहरूले न्यायको माग गर्दै नाराबाजी गरे। घरबार गुम्ने डरले पीडित बनेका उनीहरूले आफूहरूमाथि थोपरिएको निर्णय गैर–न्यायिक भएको आरोप लगाए।
    साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति तथा बागमती–मनोहरा सरोकार समितिको भुमी संरक्षण समिति टाेखाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा नागरिकको ठूलो सहभागिता देखिएको थियो।
    प्रदर्शनकारीहरूले “फैसला होइन, न्याय देऊ”, “मापदण्डको नाममा जनता उठिबास नगर”, “खोला संरक्षण गर, जनता विस्थापित नगर” जस्ता भावुक नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।
    उनीहरूको भनाइमा खोला संरक्षण आवश्यक भए पनि त्यसको नाममा पुस्तौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्नु अन्यायपूर्ण हो।
    सर्वोच्च अदालतले नदी तथा खोला किनारबाट दायाँ–बायाँ २०/२० मिटर क्षेत्र खाली राख्न आदेश दिएपछि हजारौँ परिवार प्रभावित हुने खतरा बढेको पीडितहरूको गुनासो छ। सो निर्णय पुनरावलोकन गरी खारेज गर्नुपर्ने माग उनीहरूले दोहोर्‍याएका छन्।
    पीडितहरूले विकास र संरक्षण जनताको जीवनसँग टकरिन नहुने भन्दै राज्यले मानवीय र व्यवहारिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै