• TOKHA LIVE

    • १६ पुष २०८२, बुधबार १९:३४

    ललितपुरका वरिष्ठ धातुमूर्तिकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण

     

    ललितपुर १६ पौष /
    वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त “अक्षरमा सात दशक, कुम्हालेको चक्र : माटो र जीवन” सार्वजनिक गरिएको छ।
    नानी हेरा शाक्यद्वारा मूर्तिकार अवालेका अनुभव र जीवनकथा समेटेर लेखिएको उक्त पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालि, ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ मूर्ति कलाकार सन्तकुमार शाक्य, लोकचित्रकार तथा समिक्षक शैलेन्द्र अधिकारी, पत्रकार कुमार रञ्जितलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो।
    पुस्तकबारे बोल्दै कुलपति हातम्छालिले कलाकारको जीवन, साधना र योगदानलाई अनुसन्धानात्मक ढङ्गले प्रस्तुत गरिएको यो कृति कला अध्ययनकर्ताका लागि महत्वपूर्ण प्रारम्भिक दस्तावेज भएको बताउनुभयो। उहाँले यस्ता कृतिले नेपाली कला इतिहासलाई समृद्ध बनाउने उल्लेख गर्नुभयो।
    आत्मवृत्तान्तका विषयवस्तुका केन्द्रमा रहेका कलाकार राजेश अवालेले यो पुस्तक व्यक्तिगत जीवनको कथामात्र नभई समाजलाई सृजनात्मक दिशामा अघि बढाउने प्रयास भएको धारणा व्यक्त गर्नुभयो।
    ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले कलाकारहरूको वृत्ति विकास, संरक्षण र प्रवर्द्धनका लागि महानगरपालिकाले विशेष कार्यक्रम तथा नीतिगत व्यवस्था गरिरहेको जानकारी दिनुभयो।
    समिक्षक शैलेन्द्र अधिकारीले पुस्तकले नेपाली मूर्तिकला व्यवसायभित्रको संघर्ष, परम्परा र विकासक्रम बुझ्न सहयोग पुर्‍याउने विचार राख्नुभयो।
    त्यसैगरी पत्रकार कुमार रञ्जितले कलाकारहरूको जीवन संघर्षमाथि आधारित पुस्तक प्रकाशनको परम्पराले नेपाली कला जगतको दस्तावेजीकरणमा टेवा पुगेको र यो विद्यार्थीहरूका लागि उपयोगी हुने उल्लेख गर्नुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै