• TOKHA LIVE

    • १४ पुष २०८२, सोमबार ११:१९

    चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा

    काठमाडौँ, १४ पुस । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएको छ । काठमाडौँ उपत्यकामा चन्द्रागिरि यस किसिमको घोषणा हुने सम्भवतः पहिलो नगरपालिका बनेको हो।
    आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे तथा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले संयुक्त रूपमा नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गर्नुभएको हो।
    यसअघि चन्द्रागिरि–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो। ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाज निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नं १४ लाई पहिलोपटक ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो। त्यसपछि विभिन्न चरणमा सबै वडाहरूलाई क्रमशः बालश्रममुक्त घोषणा गर्दै चालु आर्थिक वर्षभित्रै नगरपालिकाले लक्ष्य पूरा गरेको हो।
    नगर प्रमुख गिरीले बालश्रममुक्त घोषणा पश्चात यसको दिगोपनमा निरन्तर काम गरिने बताउँदै सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
    बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५), बालश्रम (निषेध तथा नियमन) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा चन्द्रागिरि नगरपालिकाको कार्ययोजनाअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै नगरपालिकाले यो उपलब्धि हासिल गरेको जनाइएको छ।
    महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, विद्यालय, बालक्लब, सरकारी तथा गैरसरकारी संस्था, उद्योग व्यवसाय क्षेत्रको सहकार्यले नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न सफल भएको बताउनुभयो।
    यसअघि देशभर छवटा स्थानीय तह मात्रै ‘बालश्रममुक्त’ घोषणा भएका थिए। सो अवसरमा बालश्रममुक्त स्थानीय तह घोषणाका लागि महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै