नविना श्रेष्ठ
काठमाडौँ, पुस ६ ।
विश्व शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यका साथ दोस्रो विश्व ध्यान दिवस २०२५ राजधानीको ऐतिहासिक सैनिक मञ्च, टुँडिखेलमा भव्य रूपमा सम्पन्न भएको छ।
डिसेम्बर २१ का दिन (पुस ६) आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा समाजसेवी महावीर पुनको संयोजनमा सम्पन्न कार्यक्रममा पाँच हजारभन्दा बढी नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम, मुख्य सचिव सुमनराज अर्याल, शिक्षा सचिव चुडामणि पौडेल र विज्ञान सचिव विश्वबाबु पुडासैनी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
ध्यान दिवसको शुभारम्भ बाल्मिकी विद्यापीठका वटुकहरूद्वारा वैदिक मन्त्रोच्चारणसहित गरिएको थियो। त्यस अवसरमा ध्यानको महत्व र मानसिक शान्तिका विषयमा संक्षिप्त प्रवचन प्रस्तुत गरियो।
कार्यक्रममा आर्ट अफ लिभिङ, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो तपोवन तथा जीवन विज्ञानका प्रवर्तक एल.पी. भानु शर्माको नेतृत्वमा सामूहिक ध्यान अभ्यास गराइएको थियो, जसले सहभागीहरूलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जाको अनुभूति गराएको थियो।
यस अवसरमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर तथा नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतका रोभर रेन्जर, स्काउट मास्टर र स्वयंसेवकहरूको सक्रिय सहभागिता विशेष रूपमा उल्लेखनीय रह्यो। कुमारीगाल क्यू, गोदावरी क्यू, प्रतिबिम्ब क्यू, मच्छिन्द्र क्यू र जेभियर्स क्यूका स्काउट तथा रेन्जरहरूले रातभर स्वयंसेवकका रूपमा सेवा दिएका थिए।
विश्व शान्तिको कामना गर्दै सामूहिक ध्यानमार्फत एकताको सन्देश दिएको यो कार्यक्रम सहभागीहरूका लागि अविस्मरणीय बनेको आयोजकले जनाएको छ।











