• TOKHA LIVE

    • ६ पुष २०८२, आईतवार १४:४४

    रवि लामिछानेले चार अदालतमा बुझाए ५ करोड २७ लाख धरौटी

     

    धरौटी रकमको स्रोतबारे सार्वजनिक चासो बढ्दै
    काठमाडौं, ५ पुस ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा हालसम्म चार वटा अदालतमा गरी कुल ५ करोड २७ लाख रुपैयाँ धरौटी बुझाइसकेको तथ्य सार्वजनिक भएको छ।
    सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले तोकेको धरौटी रकम बुझाउँदै आएका लामिछानेले कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख, चितवन जिल्ला अदालतमा सहारा सहकारी प्रकरणमा ५४ लाख र शुक्रबार उच्च अदालत बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणमा ३ करोड ४८ लाख रुपैयाँ धरौटी बुझाएका हुन्।
    यी सबै रकम जोड्दा लामिछानेले बुझाएको धरौटी रकम मात्रै ५ करोड २७ लाख रुपैयाँ पुगेको छ। यसबाहेक पर्सा जिल्ला अदालतमा पनि उनीविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।
    यति ठूलो रकमको धरौटी बुझाइएसँगै रकमको स्रोतबारे सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठ्न थालेको छ।
    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई अदालतमा बुझाइएको २ करोड रुपैयाँभन्दा बढी धरौटीको स्रोत सार्वजनिक गर्न आग्रह गरेका छन्।
    राजनीतिक नेतृत्वले पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उठेका यी प्रश्नहरूले अहिलेको राजनीतिक बहसलाई थप चर्काएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै