• TOKHA LIVE

    • २ पुष २०८२, बुधबार २२:०७

    टाेखामा नवदुर्गा देवगण गथु नाच आज सम्पन्न

    टोखा, पौष २।
    टोखाको पहिचान बोकेको नवदुर्गा देवगण गथु नाच आज औपचारिक रूपमा सम्पन्न भएको छ। पुस्तौँदेखि जोगिँदै आएको आस्था, परम्परा र मौलिक संस्कृतिलाई जीवन्त बनाउँदै आएको यो नाचले तीन दिनसम्म टोखाका टोल चोकलाई भक्तिमय र उत्सवमय बनायो।

    समापनको दिन आज बिहानैदेखि देवगण नाचका विविध प्रस्तुति सुरु भएका थिए। बाराही, सिंहःधुमः, महाकाली, श्वेत भैरवलगायत देवगणहरूको नाचले स्थानीय बासिन्दासँगै संस्कृति प्रेमीहरूको मन छोयो। साँझ ६ बजे नवदुर्गा देवगण नाचसहित कार्यक्रम औपचारिक रूपमा समापन भएको आयोजक टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनुभयो।

    मंसिर २९ गतेदेखि सुरु भएको यस परम्परागत नाच महोत्सव नात्येश्वरी मन्दिर,गणेशस्थान, तलेजु मन्दिर प्राङ्गण, थनेलाछी तथा विभिन्न चोकमा प्रस्तुत गरिएको थियो। नगर परिक्रमा, पूजा, बलि र भूतखेलसहितका विधिविधानले टोखाको सांस्कृतिक पहिचानलाई अझ प्रस्ट पारेको स्थानीयवासी बताउँछन्।
    यो नाच टोखा र भक्तपुरबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने महत्वपूर्ण कडीका रूपमा समेत लिइन्छ।

    टोखा नगरपालिका वडा नं २ र ३ को आयोजना तथा सहयोगमा सम्पन्न भएको कार्यक्रमको व्यवस्थापन टोखा संस्कृति संरक्षित  क्षेत्र विकास समिति र नेवा: गुथि टोखाले गरेका थिए।

    हरेक वर्षझैँ यस वर्ष पनि नवदुर्गा देवगण नाचले परम्परा, आस्था र समुदायबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाएको छ। आजको समापनसँगै अर्को वर्ष फेरि यही सांस्कृतिक रौनक दोहोरिने आशा स्थानीयवासीले व्यक्त गरेका छन्।

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै