टाेखा काठमाडौँ, १८ मंसिर २०८२ ।
टोखा नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवस साताव्यापी विविध कार्यक्रमसहित उल्लासपूर्ण वातावरणमा मनाएको छ। मंगलबार नगरको सभाहलमा आयोजित विशेष कार्यक्रममा नगरभित्रका प्रतिभा, संस्कृति र योगदानलाई सम्मान गर्दै स्थापना दिवस मनाइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले विगत आठ वर्षमा नगरले गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्नुभयो। विकास, शिक्षा, संस्कृति र सेवा प्रवाहका क्षेत्रमा भएका कार्यहरूको फेहरिस्त सुन्दा सभाहल भरिएको तालीले नगरबासीको विश्वास र साथ झल्किएको थियो।

विद्यार्थीको स्वरमा नगरप्रतिको सोच
स्थापना दिवसकै अवसरमा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी कक्षा ८ की छात्रा अनुश्री मिश्र प्रथम हुन सफल भइन्। टोखा नगरभित्रका ३२ विद्यालय सहभागी प्रतियोगितामा बेबील्याण्ड इङ्लिस सेकेन्डरी स्कुलकी आरुश बुढाथोकी दोस्रो, धापासी माध्यमिक विद्यालयका धिरेन्द्र बुढा तेस्रो र मिल्सबेरी स्कूलकी समृद्धि श्रेष्ठ चौथो स्थानमा रहिन्।
विजयी विद्यार्थीहरूलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथमलाई १५ हजार, दोस्रोलाई ११ हजार, तेस्रोलाई ८ हजार र सान्त्वना स्वरूप ५ हजार रुपैयाँ नगर प्रमुख अधिकारीको हातबाट प्रदान गरिएको हो। साथै प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरू शिक्षा शाखा प्रमुख सीताराम कोइराला, प्रा.डा. दिनेश घिमिरे र प्रा.डा. कान्छी महर्जनलाई पनि सम्मान गरिएको थियो।

धिमेबाजामा गुन्जियो टोखाको संस्कृति
टोखाको मौलिक पहिचान झल्काउने धिमेबाजा प्रतियोगिता मंसिर १३ गते वडा नं. २ मा सम्पन्न भएको थियो। नगर शिक्षा शाखाको समन्वयमा आयोजित प्रतियोगितामा नेवारी बस्ती रहेका विभिन्न वडाका सात समूह सहभागी भएका थिए।
प्रतियोगितामा टोखा–३ को सरस्वती धिमेखल प्रथम, टोखा–४ को धापासी व्याँचुली बाँसुरी पुचः दोस्रो, टोखा–२ को देरचा धिमेखलः तेस्रो हुन सफल भए। सान्त्वना पुरस्कार टोखा–३ को मुः ध्वाखा धिमेखल र टोखा–११ को भण्डारी टोल धिमे खलः ले प्राप्त गरे।
स्थापना दिवसको मुख्य कार्यक्रममा नगर प्रमुख अधिकारीले विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो। प्रथमलाई ४० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना टिमहरूलाई १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।
टोखाको विकास यात्रासँगै प्रतिभा र परम्परालाई सम्मान गर्दै मनाइएको १२ औँ स्थापना दिवसले नगरप्रति अपनत्व र गौरवको भावना अझ गहिरो बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

रक्तदानबाट जीवनप्रति ऐक्यबद्धता
स्थापना दिवसको अवसरमा नगरपालिकाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। स्थानीय सरकारको पहिलो कार्यकालदेखि नै रेडक्रससँगको सहकार्यमा नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने प्रतिबद्धताअनुसार टोखा नगरपालिकाले नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ। मानवताको सेवामा गरिएको यस पहलले नगरको सामाजिक उत्तरदायित्व झल्काएको थियो।
सरसफाइ र प्रभातफेरीमार्फत जागरण
स्थापना दिवसकै बिहान नगरका ११ वटै वडा तथा नगरपालिकाको कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको थियो। त्यसपछि बाजागाजासहितको प्रभातफेरी ¥याली ११ वटै वडाबाट नगरपालिकासम्म सञ्चालन गरिएको थियो। स्वच्छता, एकता र चेतनाको सन्देश बोकेको प्रभातफेरीले नगरलाई उत्सवमय बनाएको थियो।

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी सम्मानित
टोखा नगरपालिकाले २०८१ सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण भएका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ। ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र र खादा प्रदान गरिएको थियो।
टोखा–८ स्थित फ्लोरोसेन्ट माध्यमिक विद्यालयबाट आयुष्मा गौतम, अनुजा कोइराला, बनिष केसी, ऋतु तिमिल्सिना र सुनिता लामा गरी पाँच विद्यार्थीले ४ जीपीए हासिल गरेका थिए। त्यस्तै जालुपा माध्यमिक विद्यालयका सुजन रिमाल, त्रियोग माध्यमिक विद्यालयका आदर्शराज विष्ट, प्रशन्न बस्याल र सुलभ सुवेदी, हेराल्ड माध्यमिक विद्यालयका उज्जवल भण्डारी, साउथवेस्टर्न माध्यमिक विद्यालयका साकार पोखरेल तथा मिल्सबेरी स्कुलका राज्वी आचार्य र ललसा गुरुङलाई पनि सम्मान गरिएको थियो।
यसै अवसरमा एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल जालुपा माध्यमिक विद्यालय र त्रियोग माध्यमिक विद्यालयलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
कल्याणकारी सेवाको शुभारम्भ
टोखा नगरपालिकाले स्थापना दिवसकै अवसर पारेर कल्याणकारी सेवाको औपचारिक शुभारम्भ गरेको छ। कार्यक्रममा टोखामा जन्मिएका बालबालिकाका लागि बाल बचत खाताअन्तर्गत वडा नं. ७ का आवांशदिप श्रेष्ठ र ह्दयन परियारका आफन्तलाई ५–५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

त्यस्तै न्यून आय भएका परिवारका लागि क्रियाखर्च सहयोगस्वरूप प्रल्हाद प्रसाद जैसी र ज्ञानकाजी श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्रदान गरिएको छ। मृगौला रोग उपचारतर्फ टोखा–९ का होमबहादुर पुनलाई १० हजार रुपैयाँ सहयोग गरिएको छ।
क्यान्सर रोग उपचारका लागि टोखा–९ की पार्वती उप्रेती, टोखा–१० की सिता पाण्डे, टोखा–५ का मिनबहादुर बोहोरा र टोखा–३ का हरिप्रसाद आचार्यलाई जनही ३५–३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि मुटु रोगीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

जेष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता
स्थापना दिवसको अवसरमा टोखा नगरपालिकाले नगरका जेष्ठ नागरिकलाई सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको छ। पुरुषतर्फ टोखा–६ का ९८ वर्षीय पहलमान सिंह थापालाई नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई र वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको टोलीले घरमै पुगेर नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरेको थियो।
त्यस्तै महिलातर्फ टोखा–१ की १०४ वर्षीया दिलकुमारी लामिछानेलाई नगर सभाहलमा आयोजित कार्यक्रममा नगद, सम्मानपत्र तथा खादा–मालासहित सम्मान गरिएको थियो।
सेवा, सहकार्य र सम्मानलाई केन्द्रमा राखेर मनाइएको टोखा नगरपालिकाको १२ औँ स्थापना दिवसले नगरवासीबीच अपनत्व, सद्भाव र भरोसाको भावना थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

संस्थागत र व्यक्तिगत करदाता सम्मान
आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा ग्राण्डी इन्टरनेशनल अस्पताल सम्मानित भएको छ। अस्पतालले गत वर्ष २४ लाख ८२ हजार ५०४ रुपैयाँ राजस्व तिरेको थियो। त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने वसन्तकुमार कुँवरलाई पनि सम्मानपत्र र खादा प्रदान गरिएको छ। कुँवरले २ लाख ९८ हजार १४० रुपैयाँ कर तिरेका थिए।

राजस्व संकलनमा उत्कृष्ट वडा र कर्मचारी
आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा टोखा–९ सम्मानित भएको छ। उक्त वडाले ३ करोड ७७ लाख २४ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरेको थियो।
यसैगरी नगरपालिकाको राजस्व शाखामा कार्यरत प्रल्हाद बानियाँले सोही आर्थिक वर्षमा ४ करोड ८७ लाख ५७ हजार ०४४ रुपैयाँ राजस्व संकलन गर्दै उत्कृष्ट कर्मचारीको रूपमा सम्मान प्राप्त गर्नुभयो। आ.व. २०८२/८३ मा सबैभन्दा पहिला कर तिर्ने करदाताका रूपमा टोखा–१ का सूर्यबहादुर तामाङलाई पनि सम्मान गरिएको छ।

खेलकुदमा टोखाको नाम उचाल्ने सम्मान
खेलकुद क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै टोखाको पहिचान राष्ट्रिय स्तरमा उजागर गर्न सफल श्री भगवती क्लब, टोखा–२ लाई सम्मान गरिएको छ। ए डिभिजन क्लबमा प्रवेश गरेर नगरको गौरव बढाएको योगदानको कदरस्वरूप क्लबलाई विशेष सम्मान प्रदान गरिएको हो।
कृषि र पशुपालनमा उदाहरणीय फर्म
आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कृषि फर्मतर्फ टोखा–२ स्थित श्री एस.एल. रावल एग्रीकल्चर प्रा.लि. सम्मानित भएको छ। त्यस्तै पशुपालनतर्फ टोखा–३ स्थित श्री अरुण एण्ड अनिल कृषि फार्म उत्कृष्ट घोषित हुँदै सम्मान प्राप्त गरेको छ।

उत्कृष्ट कर्मचारीलाई कदर
नगर स्थापना दिवसको अवसरमा आ.व. २०८१/८२ को वार्षिक समीक्षा प्रतिवेदनका आधारमा उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ। सामाजिक विकास समितितर्फ बाबुराम गौतम, सामुदायिक विद्यालयतर्फ सुजनकुमार श्रेष्ठ र वडा कार्यालय सचिवतर्फ टोखा–३ का सानु श्रेष्ठ सम्मानित हुनुभएको छ।
प्रगति विवरण सार्वजनिक
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा प्रतिवेदन तथा आ.व. २०८२/८३ को चार महिनाको प्रगति विवरण पुस्तकसमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले २०७४ साल वैशाखमा आफू निर्वाचित हुनुअघि टोखाका अधिकांश सडक धुलाम्मे र हिलाम्मे अवस्थामा रहेको स्मरण गर्नुभयो। अहिले ८५ प्रतिशतभन्दा बढी सडक पक्की भइसकेको बताउँदै उहाँले यसलाई नगरको सामूहिक प्रयासको उपलब्धि भएको उल्लेख गर्नुभयो।
शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै नगर प्रमुख अधिकारीले २०७४ पछिका वर्षहरूमा विद्यालयको भौतिक संरचना र शैक्षिक वातावरणमा ठूलो परिवर्तन आएको बताउनुभयो। सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै विद्यार्थी र अभिभावकको आकर्षण बढेको उहाँको भनाइ थियो। संघीय सरकारले कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गरे पनि टोखा नगरपालिकाले आफ्नै पहलमा कक्षा १० सम्म निःशुल्क खाजाको व्यवस्था गरेर देशमै उदाहरणीय अभ्यास सुरु गरेको उहाँले उल्लेख गर्नुभयो।
टोखाको विकास यात्रामा योगदान दिने सबैप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै मनाइएको १२ औँ स्थापना दिवसले नगरबासीबीच भरोसा, अपनत्व र साझेदारीको भावना थप बलियो बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
टोखा नगरपालिकाले गत वर्ष सम्पन्न स्वमूल्याङ्कनमा काठमाडौँ जिल्लाका पालिकामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको छ। यो उपलब्धिलाई नगरको सामूहिक मेहनतको प्रतिफल भन्दै नगर प्रमुख प्रकाश अधिकारीले आगामी दिनमा सेवाको गुणस्तर र विकासको गति अझ तीव्र बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नगर प्रमुख अधिकारीका अनुसार अबको १५ महिनाभित्र टोखाका सडक बत्तीसम्बन्धी समस्या दिगो रूपमा समाधान गर्ने लक्ष्य लिइएको छ। साथै मेट्रिक एड्रेसिङ सिस्टमअन्तर्गत घर–घरमा डिजिटल नम्बर (हाउजिङ नम्बर) राख्ने काम पनि छिट्टै सुरु हुने जानकारी दिनुभयो। यसका लागि डिजिटल प्लेट नम्बरको ठेक्का प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो।
स्वास्थ्यमा रोकथामलाई प्राथमिकता
नगरपालिकाले ५० वर्षमाथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक उपचारको व्यवस्था गर्दै आएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो। “रोग गम्भीर भएपछि मात्र होइन, समस्या नदेखिँदा पनि परीक्षण गराउने संस्कार बसाल्न खोजेका हौँ,” उहाँले भन्नुभयो।

जन्मसँगै भविष्यको सुरुवात
टोखा नगरसभाबाट पारित नीतिअनुसार स्थायी रूपमा टोखामा बसोबास गर्ने नागरिकको घरमा बच्चा जन्मिएलगत्तै बाल बचत खाता खोली ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम कार्यान्वयनमा गएको छ। उक्त रकम १८ वर्षपछि निकाल्न पाइने व्यवस्था गरिएको छ। “यो रकम उसको अध्ययन र भविष्य निर्माणमा सहयोगी हुन सक्छ,” नगर प्रमुख अधिकारीले भन्नुभयो, “नगर समृद्ध हुँदै जाँदा यो सहयोग पनि क्रमशः बढाउन सकिन्छ।”
बिरामीलाई राहत, जीवनलाई सहारा
टोखामा उपचारका क्रममा बिरामीले सामान्य आवश्यकता पूरा गर्नकै लागि आर्थिक अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले रोगको प्रकृतिअनुसार ३५ हजारदेखि ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइँदै आएको नगर प्रमुख अधिकारीले बताउनुभयो। साथै रेडक्रससँगको सहकार्यमा पहिलो कार्यकालदेखि नै नगरबासीका लागि निःशुल्क रगतको व्यवस्थापन हुँदै आएको जानकारी पनि उहाँले दिनुभयो।
विपद् तयारी र आपतकालीन सेवा
आगामी वर्षहरूमा टोखालाई आर्थिक, सामाजिक र पूर्वाधार विकासका दृष्टिले अग्रस्थानमा पुर्याउने लक्ष्यसहित नगरपालिकाले विपद् व्यवस्थापनका लागि बारुदयन्त्र (फायर फाइटिङ उपकरण) तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो।
उपप्रमुखको प्रतिबद्धता
नगर उपप्रमुख मुरारी तामाङले महिलामैत्री कार्यक्रम, विद्यालय सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, सडक सुधार तथा दिगो विकासका गतिविधिहरूलाई नगर कार्यपालिकाले प्रभावकारी रूपमा अघि बढाएको बताउनुभयो। आगामी दिनमा अझ परिणाममुखी र जनमुखी रूपमा काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
साझा शुभेच्छा र सुझाव
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले स्वागत मन्तव्य राख्दै नगरपालिकाले सुरु गरेका कार्यक्रम र १२ औँ स्थापना दिवसका अवसरमा सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउनुभयो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पूर्व जनप्रतिनिधि फोरमका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्दै नगरपालिकाका सेवा–सुविधा अझ छिटो र छरितो हुनुपर्ने सुझाव दिएका थिए। साथै सार्वजनिक जग्गा संरक्षण र खानेपानी व्यवस्थापनमा थप ध्यान दिन आग्रह गर्दै पूर्वाधार विकासमा नगरपालिकाले गरेको कामको खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रम सञ्चालन टोखा नगरपालिकाको योजना तथा अनुगमन शाखाका मधुसुदन मिश्रले गर्नुभएको थियो।
सेवा, संवेदना र योजनाबद्ध विकासको बाटोमा अघि बढिरहेको टोखा नगरपालिकाले १२ औँ स्थापना दिवसमार्फत नागरिकसँगको भरोसालाई अझ मजबुत बनाएको सहभागीहरूको धारणा थियो।


