• TOKHA LIVE

      TOKHA LIVE

    • २८ मंसिर २०८२, शनिबार १६:५९

    एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

     

    काठमाडौँ, २७ मङ्सिर / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशलाई गलत बाटोमा जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले अनेक चुनौतीका बीच पनि एमालेप्रति जनसमर्थन बढिरहेको बताउनुभयो।

    अध्यक्ष ओलीले एमाले कुनै राजनीतिक ‘स्टन्ट’मा विश्वास नगरी देशलाई समृद्ध बनाउने स्पष्ट लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो। सुशासन र विकास चाहने सबै शक्तिहरू एमालेसँग उभिएको उहाँको भनाइ थियो। “लोकतन्त्र अजेय छ र एमाले अजम्मरी छ,” उहाँले भन्नुभयो, “देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने यात्रामा हामी दृढताका साथ अघि बढिरहेका छौँ।”

    एमाले राष्ट्रियता, सामाजिक न्याय र समावेशिताको पक्षमा अग्रसर पार्टी भएको उल्लेख गर्दै उहाँले सबै क्षेत्र र समुदायको सहभागिता स्थापित गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। नेपाली विशेषतासहितको समाजवाद निर्माण, गाउँमुखी विकास, जनसहभागितामूलक योजना र ठूला विकास परियोजनामा एमाले अग्रपंक्तिमा रहेको उहाँको भनाइ थियो।

    महाधिवेशनमा देखिएको विशाल उपस्थितिलाई जनविश्वासको संकेतका रूपमा लिँदै अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। गत भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्यका संरचना कमजोर पार्ने प्रयास भए पनि शान्ति र न्यायको आधारमा लोकतन्त्रलाई मजबुत बनाइने उहाँले स्पष्ट गर्नुभयो।

    अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनेभन्दा पनि पूर्वाग्रह र संविधानविपरीतका काममा ध्यान दिएको आरोप लगाउँदै देशलाई सही दिशामा लैजान एमाले निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै