काठमाडौँ, २५ मङ्सिर।
मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको आज ९१ वर्षको उमेरमा निधन भएको छ। नेपाली मूर्तिकला क्षेत्रमा आफ्नो जीवनभरको योगदानका कारण उहाँलाई अग्रज कलाकारका रूपमा सम्मान गरिँदै आएको थियो।
सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिक, साथै सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजका शालिकहरू तुलाधरकै प्रमुख कृतिहरू मानिन्छन्। त्यहाँ रहेका चारवटा तस्बिर पनि उहाँकै सिर्जना हुन्।
यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समका शालिक उहाँका कलात्मक योगदानका उल्लेखनीय नमूना हुन्।
वि.सं. १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मनुभएका तुलाधरका चार छोरा र तीन छोरी छन्। नेपाली मूर्तिकला क्षेत्रले एक समर्पित र सृजनशील व्यक्तित्व गुमाएको छ।

