काठमाडौँ, २४ मंसिर /
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले बुधवार आयोजना गरेको ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यक्रम सरल तर अर्थपूर्ण वातावरणमा सम्पन्न भयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा चलेको कार्यक्रममा कला पत्रकारिता कसरी अघि बढ्दै आएको छ, अहिले कहाँ उभिएको छ र यसलाई अझ प्रभावकारी बनाउन के–के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भयो।
कार्यक्रममा लेखक तथा पत्रकार नारायण ढुङ्गानाले विस्तृत कार्यपत्र प्रस्तुत गर्दै कला पत्रकारिताको सुरुवातदेखि हालसम्मको यात्रा, यसको प्रगति, कमजोरी र भविष्यका सम्भावनाबारे प्रस्ट धारणा राखे। पत्रकार सुशिला तामाङले कार्यपत्रमाथि टिप्पणी गर्दै कोभिड–१९ पछि कला बिटले पाएको स्थान, यस क्षेत्रमा महिलाको सक्रियता र राज्यस्तरको नीतिगत पहलको आवश्यकता बारे धारणा व्यक्त गरिन्।
छलफलमा सहभागी जगत् वशिष्ठ, दिवेशमान सिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायतले कला पत्रकारिताले कलालाई जनस्तरमा पुर्याउने सेतुको काम गरेको भन्दै यसलाई अझै सक्षम बनाउन सबै पक्ष एकसाथ उभिनुपर्नेमा जोड दिए।
कुलपति हार्तम्छालीले कला समाजको सांस्कृतिक रूपान्तरणसँग जोडिएको गहिरो विषय भएकाले यस क्षेत्रको जानकारी, समस्या र सम्भावना पहिचान गर्न कला पत्रकारिता अत्यन्त महत्वपूर्ण रहेको बताए। “स्थानीय तहबाटै कला बलियो बनेर उठ्नुपर्छ, र पत्रकारिताले त्यसलाई जनतासमक्ष उजागर गर्नुपर्छ,” उहाँले भन्नुभयो।
प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाको परिचय, मूल्य र महत्त्वलाई देशभित्र मात्र होइन, विश्वभर फैलाउन यस किसिमका छलफल आवश्यक रहेको बताए।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
समग्रमा, कार्यक्रमले एकपटक फेरि पुष्टि गर्यो कला जति संवेदनशील छ, यसको कथन–प्रकटीकरण पनि त्यति नै आवश्यक छ। र त्यसका लागि कला पत्रकारिता नै सबैभन्दा बलियो आवाज हो।

