काठमाडौं, २३ मंसिर /
सामाजिक सेवामा निरन्तर सक्रिय लायन्स क्लब इन्टरनेशनल एम–३२५ ले यसपटक सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट २०२५ मा खेलकुदमार्फत पनि आफ्नो पहिचान स्थापित गर्ने उत्साह बोकेको थियो। टोली मैदानमा उत्रिँदा आशा र ऊर्जा दुवैले साथ दिएका थिए। तर सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको तेस्रो खेलमा भने केही दुर्भाग्यसहित यात्रा रोकिन पुग्यो। फ्रीदम एफसीसँग २–१ को हारसँगै उनीहरूको अभियान यसै चरणमा टुंगियो।
खेलको सुरुआत नै उत्साहजनक थियो। १२औँ मिनेटमा गोलकिपर अभिषेक खड्काले पेनाल्टी बचाएर टोलीलाई बलियो मनोबल दिएका थिए। तर पहिलो हाफको ४३औँ मिनेटमा फ्रीदम एफसीका सागर कतुवालले बक्सभित्रबाट गरेको गोलले खेलको मुड बदलियो। हाफको अन्त्यतिर जर्सी नम्बर ७ मन्जित घलानले अर्को गोल थपेपछि लायन्समाथि दबाब झनै बढ्यो।
यद्यपि, लायन्स क्लबले हिम्मत छोड़ेन। दोस्रो हाफको ५३औँ मिनेटमा जर्सी नम्बर १५ दिशान देउशाली राईले सानदार गोल फर्काउँदै आशाको दीप फेरि बल्झाए। अन्तिमसम्म बराबरीको खोजी जारी रह्यो, तर गोलका प्रयास सफल हुन सकेनन्।
खेलको बीचमा कप्तान दीपेन्द्र डंगोल विपक्षीसँग ठोक्किँदा घाइते भएपछि टोली थप कठिन अवस्थामा पुगेको थियो। उनको बायाँ घुँडामा चोट लागेको बताइएको छ।
यस हारपछि पनि एम–३२५ को यात्रा सम्झनलायक रह्यो। समूह चरणमै नागार्जुन एफसीलाई २–१ ले र दक्षिणकाली परोपकार क्लबलाई २–० ले पराजित गर्दै समूह ‘L’को विजेता बनेर नकआउटमा प्रवेश गरेको उपलब्धि उल्लेखनीय छ। सामाजिक सेवामा मात्र होइन, खेलमैदानमा पनि आफ्नो क्षमता देखाउने क्लबको उत्साह धेरैका लागि प्रेरणा बनेको छ।
हेड कोच सुदीप शिखरकार अन्तिम मिनेटसम्म खेलाडीलाई हौसला दिन व्यस्त थिए। सहायक कोच सजन श्रेष्ठ, टिम म्यानेजर सानुबाबु श्रेष्ठ, डाक्टर लक्ष्य महर्जनले घाइते खेलाडीका लागि मैदानमै दगुरेर उपचार पुर्याए।
टिम स्टाफ सन्तलाल श्रेष्ठ, दिपेश राज जोशी, र रोशन श्रेष्ठ , सुनिल श्रेष्ठ लगातार खेलाडीको मनोबल र व्यवस्थापनमा खटिनुले टोलीलाई थप बलियो बनाएको थियो।
दुर्भाग्यले रोकिए पनि लायन्स क्लब इन्टरनेशनल एम–३२५ को खेलप्रति समर्पण र जुझारुपन भविष्यका लागि आशाजनक संकेत बनेर उभियो।

