• TOKHA LIVE

    • १५ मंसिर २०८२, आईतवार २२:०३

    नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशालामा प्रशिक्षण सहायकहरुले सिके यःमरिको द्य:मरि

     

    काठमाडौँ, १४ मङ्सिरः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशालामा प्रशिक्षण सहायकहरुले नेवार समुदायको परम्परागत खाना परिकार यःमरि , द्य: मरि बनाउने कला सिकेका छन् ।

    प्रतिष्ठानको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा भएको ‘नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशाला’मा  काठमाडौं महानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका नेपाल भाषा प्रशिक्षक ७० जना महिला पीठो मुछेर यःमरि,द्य: मरि तयार पार्ने अभ्यास गरे।

    प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्दै कार्यक्रमले संस्कृति र कलाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उहाँ सहभागीहरुले संस्कृतिलाई कला मार्फत जीवन्त बनाएर देखाएको उल्लेख गर्नुभयो।

    संस्कृति महाशाखा प्रमुख सहसचिव डा. सुरेश श्रेष्ठले यःमरि जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिष्ठान सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले “नेवार समुदायको परिचय बोकेको यःमरि लगायतका लोककलाको संरक्षण र पुस्तान्तरण अहिलेको आवश्यकता हो।”- भन्नुभयो ।

    कार्यशालामा प्रदीप अधिकारी, प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुखले यस कार्यक्रमको उद्देश्य लोककलाको संरक्षण र पुस्तान्तरण रहेको बताए र भविष्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने बताए।

    त्रिभुवन विश्वविद्यालयका नेपालभाषा विभागका सहप्राध्यापक डा. राजनलाल जोशीले ‘यःमरि कलाकारिताको प्रारम्भ’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

    कलाकार र कार्यक्रम संयोजक मनरा प्रजापतिले कार्यपत्रमाथि टिप्पणी गर्दै गत वर्षजस्तै यस वर्ष पनि नेपाल भाषा प्रशिक्षकहरूको सहयोगमा विद्यार्थीहरूलाई य:मरी बनाउने सीप सिकाउँदै बढ्दो लोकप्रियतासँगै य:मरी नेवारी संस्कृतिको मुख्य प्रतीक बनेको  तर य:मरीकै चमकमा अन्य ‘द्य:मरी’ भने क्रमशः ओझेलमा परिरहेकाे बताइन। ओझेल परेका यी कलालाई आगामी पुस्तासम्म जोगाएर हस्तान्तरण गरिराख्ने उद्देश्यले यस वर्षको प्रशिक्षणमा विभिन्न प्रशिक्षकहरूलाई विशेष रूपमा सहभागी गराइएको संयोजक मनरा प्रजापतिले बताइन।

    उनीहरूको भनाइमा, यस्तो सीप प्रशिक्षणले युवाहरूमा संस्कृतिप्रति आकर्षण बढाउनुका साथै परम्परागत कलालाई जोगाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। द्य:मरि प्रशिक्षण सुमन महर्जनले गर्नुभएको थियो । कलाकार सम्झना राजभण्डारीले यःमरि कला सम्बन्धी अनुभव सहभागीहरूसँग बाध्नुभयो। कार्यक्रमले परम्परागत कलालाई जीवन्त बनाउँदै सहभागीहरूमा नयाँ उत्साह र सीपको जग बसाएको छ।

    Photo sources /Lalitkala Nepal

    Facebook Comments

    छुटाउनुभयो कि? सबै