धरान (सुनसरी), १४ मङ्सिर / सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन अब योग्य नेतृत्व चयन गर्ने निर्णायक समय आएको बताउनुभएको छ। धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत–२०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ सोच, वैकल्पिक शक्ति र जिम्मेवार नेतृत्व एकताबद्ध भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको यात्रा सुरू गर्न सक्नेमा जोड दिनुभयो।
मन्त्री घिसिङले देशमा देखिँदो आपसी गालीगलौज, आरोप–प्रत्यारोपको संस्कृतिले विकास रोकेको उल्लेख गर्दै सहकार्य र एकताबद्ध प्रयासबाट मात्र राष्ट्रको गति बढ्ने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “हामी एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो। सबै एक भएर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ।”
आगामी निर्वाचनलाई देश परिवर्तनको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै उहाँले जनतामा राजनीतिक सचेतना र जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्ने आग्रह गर्नुभयो।
“नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ। योग्य व्यक्ति सही समयमा सही स्थानमा पुगे देश विकासले गति लिन्छ,” मन्त्री घिसिङले भन्नुभयो, “राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन। सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवालाई रोजगारी दिइनन्जेल वास्तविक समृद्धि सम्भव छैन।”
उहाँका अनुसार राजनीति बदलिँदैमा देश स्वतः बदलिंदैन, प्रणाली बलियो बनाउनु नै मुख्य चुनौती हो। युवालाई रोजगारी र अवसर नदिइसम्म, सुशासन नआउँदासम्म समृद्धि सम्भव नहुने उहाँको भनाइ थियो।
मन्त्री घिसिङले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नेपाललाई स्थिरतामा लैजान सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।-रासस

