• TOKHA LIVE

    • १५ मंसिर २०८२, आईतवार २०:५८

    छ महिनाभित्र एनआरएनएको १२औँ महाधिवेशन

    काठमाडौँ, १४ मङ्सिर/लामो समयदेखि दुई प्रमुख समूहमा विभाजित रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्ततः एक ठाउँमा उभिएपछि अब छ महिनाभित्र १२औँ महाधिवेशन गर्ने तयारी अघि बढेको छ।

    प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय डा. बद्री केसीमहेशकुमार श्रेष्ठले एकताले स्वदेश–विदेशमा रहेका नेपाली समुदायलाई ठूलो आशा र सकारात्मक सन्देश दिएको बताए।

    अध्यक्ष डा. केसीले विगतका विवादलाई अन्त्य गर्दै अब नेपालको आर्थिक विकासमा एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। अर्का अध्यक्ष श्रेष्ठले भने एनआरएनएभित्रको यो ठूलो एकताले भावनात्मक रूपले पनि सबै नेपालीलाई जोड्ने र समृद्ध नेपाल निर्माणमा प्रेरित गर्ने अपेक्षा व्यक्त गरे।

    सहमतिका मुख्य बुँदाहरू

    • १२औँ महाधिवेशन छ महिनाभित्र सम्पन्न गरिने।
    • सन् २०२३ को ११औँ महाधिवेशनबाट निर्वाचित डा. केसी नेतृत्वको कार्यसमिति र सन् २०२५ को एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्व दुवैलाई मान्यता।
    • १२औँ महाधिवेशनमा उम्मेदवारी नदिने व्यक्तिहरूको तटस्थ समिति बनाएर तयारी अघि बढाइने।
    • सदस्यता दर्ता प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न महासचिव गौरीराज जोशी र बाबुराम लामालाई पूर्ण अधिकार।
    • १०औँ र ११औँ महाधिवेशनका फरक परिस्थितिमा बनेका कार्यसमितिहरूलाई पूर्वकार्यसमितिको रूपमा अभिलेखीकरण
    • दुई पक्षबीच अदालतमा चलिरहेका मुद्दा फिर्ता लिने वा सहमतिमार्फत समाधान गर्ने।
    • दुवै पक्षको वित्तीय पाटो स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गरिने।

    महाधिवेशनको अवसरमा, ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेस गर्नेछन्। अध्यक्ष डा. केसीले उक्त प्रतिवेदन एकता महाधिवेशनबाट चयनित अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्।

    पृष्ठभूमि

    नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित सन् २००३ मा स्थापना भएको एनआरएनए विश्वभर रहँदै आएका नेपालीहरूलाई एकताबद्ध गर्ने प्रमुख संस्था मानिन्छ। विभाजनका वर्षपछि अब भएको बृहत् एकताले संगठनलाई फेरि स्थिर दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै