काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज औपचारिक एकता भएको छ। काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुले एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा वैकल्पिक राजनीतिलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
रास्वपातर्फ कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति तथा उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गर्नुभयो। त्यस्तै विवेकशील साझाबाट अध्यक्ष समीक्षा बास्कोटा तथा उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गर्नुभयो।
नेताहरूले वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन एकता महत्वपूर्ण कदम भएको टिप्पणी गरेका छन्।
एकतासँगै दुवै दलबीच पाँच बुँदे सहमति समेत भएको छ। सहमतिमा रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार्ने, उज्जवल थापा तथा विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ।
सहमति अनुसार ‘रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन’ सम्मका लागि विशेष संयन्त्र संघीय नेतृत्व मञ्च गठन गर्ने, जसमा विवेकशील साझाबाट एकीकरणमार्फत आउने नेताहरुलाई आपसी समझदारीका आधारमा मनोनयन गरिनेछ। मञ्चका सदस्यहरुको प्राथमिकता केन्द्रीय समिति सदस्यस्तरसम्म रहनेछ।
यस्तै, विवेकशील साझा पार्टीका सदस्य तथा सल्लाहकारहरुलाई केन्द्रीय, प्रदेश र स्थानीय तहका संरचनामा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्दै समायोजन गरिनेछ।
एकीकरणपछि पनि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिन्ह घण्टी कायम रहने उपसंयोजक शिशिर खनालले जानकारी दिनुभयो। घोषणा कार्यक्रममा दुवै दलका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो।

