काठमाडौँ, १४ मङ्सिर/
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा महाधिवेशन प्रचार समितिद्वारा आयोजित विशेष कार्यक्रममा ओलीले लोगो अनावरण गर्नुभएको हो।
पार्टीका सचिव तथा प्रचार समितिका संयोजक पद्यमा अर्यालका अनुसार सार्वजनिक गरिएको लोगोले एमालेको इतिहास, राजनीतिक आन्दोलन र वर्तमान संकल्पलाई कलात्मक रूपमा समेटेको छ। लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार र पार्टीको चुनाव चिन्हलाई बहुउपयुक्त र बहुभाषिक शैलीमा संयोजन गरिएको बताइएको छ।
सार्वजनिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित शीर्ष नेताहरूको उपस्थिति थियो। सो अवसरमा महाधिवेशनका लागि तयार गरिएको जिङ्गल पनि सार्वजनिक गरिएको छ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुनेछ। महाधिवेशनका लागि मातहतका कमिटी स्तरीय प्रतिनिधि छनोट मङ्सिर १३ गते नै सकिएको प्रचार समितिले जनाएको छ।

