• TOKHA LIVE

    • १३ मंसिर २०८२, शुक्रबार २०:१०

    एनपिएलमा काठमाडौँ गोर्खाजको दह्रो जीत, चितवन राइनोज ५३ रनले पराजित

    काठमाडौँ, १२ मङ्सिर / राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले आजको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।
    १४३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको चितवन १७.२ ओभरमै ८९ रनमा अलआउट भयो। टोलीका देव खनाल र रवी बोपराले समान २१–२१ रन तथा सोहेल तनभिरले १८ रन जोड्दा पनि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। काठमाडौँका राशिद खानले धारिलो बलिङ गर्दै तीन विकेट लिए भने कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई–दुई विकेट हात पारे।
    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९.४ ओभरमा १४२ रनमा समेटिएको थियो। काठमाडौँका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रनको धैर्यपूर्ण पारी खेले भने मिलिन्द कुमारले ३८ रन जोडे। चितवनका सोहेल तनभिरले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने कमलसिंह ऐरी र रञ्जित कुमारले दुई–दुई विकेट हात पारे।
    दुबै पक्षको उतार–चढावपूर्ण खेललाई पछाडि पार्दै काठमाडौँले अन्ततः सहज र प्रभावशाली जित सुनिश्चित गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै