• TOKHA LIVE

    • ११ मंसिर २०८२, बुधबार २१:४३

    टोखाका चाकु व्यवसायीले तराईको सख्खरबाट परम्परा जोगाइरहे

     

    काठमाडौँ, १० मङ्सिर / माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका चाकु व्यवसायीहरूले चाकु बनाउने काम सुरु गरेका छन्। तराईबाट सख्खर ल्याएर परम्परा निभाउँदै उनीहरूले नेवारी संस्कृतिको मिठास संसारभर फैलाइरहेका छन्।
    टोखा नगरपालिका वडा २ र ३ को पुरानो नेवार बस्तीमा चाकु बनाउने परम्परा दशकौँदेखि चल्दै आएको छ। नेवारी भाषामा ‘टु’ भनेको उखु र ‘ख्यः’ भनेको फल्ने ठाउँ हो। पहिले टोखा उखुखेती र चाकु उत्पादनका लागि देशभर प्रसिद्ध थियो, तर अहिले उखु खेती कम भएकाले उद्योगीहरूले तराईबाट सख्खर ल्याएर व्यवसाय निरन्तरता दिइरहेका छन्।
    टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले कपिलवस्तुको चन्द्रौटा बजारबाट सख्खर ल्याएर चाकु बनाइरहेको बताउनुभयो। अहिले टोखामा १८ कम्पनीले चाकु उत्पादन गरिरहेका छन्। विगतमा १४ कम्पनी मात्रै थिए, तर हाल उद्योग विस्तार भएको छ।
    संस्थाले नयाँ पुस्तालाई चाकु उत्पादनमा प्रोत्साहन गर्दै विश्वव्यापी बजारमा टोक्नका लागि तीनै तहका सरकारसँग सहकार्य गरिरहेको छ। साथसाथै, टोखामा परम्परागत उखु खेतीलाई पुनः प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहन दिने कार्यक्रमहरू अघि बढाइएको छ।
    टोखामा उत्पादित चाकु काठमाडौंका असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुरसहित नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ। जापान, अमेरिका र अष्ट्रेलियामा पनि टोखाको चाकु लोकप्रिय छ।
    टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो–कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डु जस्ता विविध मिठाईहरू उत्पादन भइरहेका छन्। टोखा नगरपालिका पनि चाकुलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड बनाउन ‘चाकु स्तम्भ’ निर्माणमा लागिरहेको छ।
    हाल टोखामा उत्पादित चाकु प्रतिकिलो १४०–१५० रुपैयाँमा बिक्री हुँदै आएको छ। नेवारी समुदायमा माघ १ गते र काजरियाको बेलामा चाकु खाने परम्परा छ। चिसो महिनामा चाकु खाँदा शरीर बलियो र रोगसँग लड्ने क्षमता बढ्ने विश्वास पनि रहेको छ।
    टोखाको चाकु परम्परागत मिठास, इतिहासको स्वाद र नयाँ पुस्ताको मेहनतले बनेको सधैंको लागि नेवारी संस्कृतिको गौरवका रूपमा चम्किरहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै