• TOKHA LIVE

    • २७ कार्तिक २०८२, बुधबार १२:४८

    पशुपतिनाथ–बौद्धनाथ जोड्ने सडकमा नयाँ ‘आस्फाल्ट प्रविधि’ प्रयोग

    काठमाडौँ, २६ कात्तिक ।
    विश्व सम्पदा सूचीमा सूचिकृत दुई धार्मिक तथा ऐतिहासिक सम्पदा  पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपलाई जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडक खण्डमा नयाँ “आस्फाल्ट प्रविधि” प्रयोग गरेर कालोपत्र गर्ने काम सुरु भएको छ।

    हालैमात्र कालोपत्र गरिएको सडक फेरि उप्काएर नयाँ प्रविधिबाट पुनः कालोपत्र गर्न थालेपछि स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। सडक उप्किँदा धुलो उडेर दैनिक यात्रु र स्थानीयलाई समस्या भएको उनीहरूको गुनासो छ।

    स्थानीय मङ्गलबहादुर तामाङका अनुसार, “कालोपत्र राम्रो नै थियो, तर अहिले भत्काएर स्रोतको दुरुपयोग भइरहेको देखिन्छ। सूचना पाटी पनि नराखी काम भइरहेको छ, पारदर्शिता छैन,” उहाँले भन्नुभयो।

    तर, काठमाडौँ महानगरपालिका ६ का अध्यक्ष भुवन लामाले भने आस्फाल्ट प्रविधिबाट सडक अझ टिकाउ र गुणस्तरीय हुने बताए। “दुई विश्व सम्पदा क्षेत्रबीचको सडक राम्रो बनाउन नयाँ प्रविधि अपनाइएको हो,” उहाँको भनाइ छ।

    महानगरको सार्वजनिक निर्माण विभागका साइट इञ्चार्ज इञ्जिनियर प्रफुल्ल गर्तौलाका अनुसार करिब चार किलोमिटर लामो सडक रु दुई करोडको लागतमा मङ्सिर मसान्तसम्म कालोपत्र पूरा गरिने योजना छ।

    यस परियोजनाबाट काठमाडौँको प्रमुख सांस्कृतिक र धार्मिक पर्यटकीय मार्ग थप आकर्षक र दिगो हुने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै