टोखा, कात्तिक २४/
टोखा नगरपालिका वडा नं. ३ र आधारभूत स्वास्थ्य सेवा केन्द्र टोखा–३ सरस्वती, काठमाडौंको संयुक्त आयोजनामा शनिबार निःशुल्क मृगौला तथा कलेजो रोग परीक्षण शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले गरिएको शिविरमा १६५ जनाले निःशुल्क रूपमा कलेजो र मृगौलाको परीक्षणसहित औषधि सेवा प्राप्त गरेका छन्।
शिविरमा टोखा सरस्वती स्वास्थ्य चौकी र चिरायु नेशनल हस्पिटल, बसुन्धराको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रममा करिब ३० वर्षभन्दा माथिका स्थानीय बासिन्दाले मृगौला र कलेजो परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणमा किड्नी तथा मूत्ररोग विशेषज्ञ प्रा.डा. उत्तम कुमार शर्मा, कलेजो तथा पेट रोग विशेषज्ञ प्रा.डा. बिधान निधि पौडेल, रेडिओलोजिस्ट प्रज्वल दाहाल लगायतका चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरमा निम्न निःशुल्क सेवा उपलब्ध सेवाहरुमा मृगौलाको कार्य परीक्षण (RFT),कलेजोको कार्य परीक्षण (LFT),भिडियो एक्स–रे, इसिजी सेवा,मृगौला तथा कलेजोसम्बन्धी विशेषज्ञ परामर्श र नि: शुल्क औषधि वितरण समेत गरेका थिए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र टोखा–३ सरस्वतीका जनस्वास्थ्य निरीक्षक सञ्जिव कुमार पटेलले स्थानीय समुदायमा स्वास्थ्य सचेतना र पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए।
उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा अध्यक्ष रमेश डङ्गोल, कार्यपालिका सदस्य शान्ता राई, वडा सदस्य देवीमाया नेपाली, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
टाेखा ३ का वडा अध्यक्ष रमेश डङ्गोलले भने “स्वास्थ्य हाम्रा जीवनका सबैभन्दा मूल्यवान् सम्पत्ति हुन्। हरेक नागरिकले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने हाम्रो साझा जिम्मेवारी हो। मृगौला र कलेजोका समस्या ढिलो पत्ता लाग्दा गम्भीर हुन सक्छन्, त्यसैले यस शिविरमार्फत हामी स्वास्थ्य सचेतना बढाउँदै सेवा सबैसम्म पुर्याउने लक्ष्य राखेका छौं।”
टाेखा नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यलाई नगरको प्रमुख जिम्मेवारीका रूपमा लिँदै भने “नगरवासीको स्वास्थ्य हाम्रै कर्तव्य र प्राथमिकता हो। नगरलाई स्वस्थ र सचेत बनाउन हामी निरन्तर यस्ता शिविरहरू सञ्चालन गर्दै आएका छौं। यो केवल उपचार होइन, स्वास्थ्यप्रतिको सामूहिक जिम्मेवारीबोध हो, जसमा नगर र नागरिक दुवैको सक्रिय सहभागिता आवश्यक छ।”


