नुवाकोट, कात्तिक २३ ।
नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा शनिबार मात्रै भक्तजनहरूले रु. २,४०,३१५ भेटी अर्पण गरेका छन्।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार उक्त दिन डिजिटल माध्यमबाट रु. १२,५३० र मध्यान्ह आरतिबाट रु. १,२३,४३५ संकलन भएको हो। धाममा दैनिक रूपमा भक्तजनको भीड बढ्दै गएसँगै भेटीको मात्रा पनि उल्लेख्य रूपमा बढ्दै गएको कोषले जनाएको छ।
कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भेटी गणनाको सम्पूर्ण प्रक्रिया पारदर्शी ढङ्गले गरिँदै आएको छ। उनले इच्छुक भक्तजनलाई प्रत्येक दिन बेलुकी ५ बजे हुने भेटी गणनामा सहभागी हुन पनि आग्रह गरेका छन्।
धार्मिक र ऐतिहासिक महत्त्व बोकेको दुप्चेश्वर धाममा हाल दैनिक पूजाआजा, आरति तथा भेटी व्यवस्थापन कार्यहरू दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा सुव्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्।

