• TOKHA LIVE

    • २२ कार्तिक २०८२, शुक्रबार १४:३२

    टोखा–छहरे सडकखण्ड अनिश्चितकालीन बन्द : “अब पिच भएपछि मात्र खुल्छ”

    नुवाकोट, कात्तिक २१।
    टोखा–छहरे सडकखण्ड आज बिहानदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। लिखु गाउँपालिका–६ थान्सिङस्थित पेट्रोल पम्प वरिपरि अत्यधिक बिग्रिएको सडक तत्काल मर्मत र पिच गर्नुपर्ने माग गर्दै स्थानीयहरूले सडकमा आन्दोलन थालेका हुन्।

    वर्षायामपछि सडकमा ठूला–ठूला खाल्डा परेको, धुलो र धुवाँका कारण सास फेर्नसमेत गाह्रो भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। उनीहरूको भनाइमा, “हामीले पटक–पटक माग गर्‍यौं, तर सुनुवाइ भएन। अब पिच नभएसम्म सडक खुल्दैन।”

    सडक बन्दका कारण विदुर, ढिकुरे, दुप्चेश्वरलगायत क्षेत्रबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन छहरे चोकमै रोकिएका छन्। यात्रुहरू अलपत्र परेका छन्, तर स्थानीयहरूको भनाइ छ – “अब अलिक असजिलो भए पनि दीर्घकालीन समाधानका लागि यो कदम आवश्यक भयो।”

    पुष्पलाल राजमार्गअन्तर्गत पर्ने यो बाटो नुवाकोट–काठमाडौँ आवतजावतको मुख्य मार्ग हो। त्यसैले सडक बन्दले जनजीवनमा ठूलो असर परेको छ। स्थानीयहरूले चेतावनी दिएका छन्, “तत्काल मर्मत सुरु नभए अझ कडा आन्दोलन हुन्छ।” सडक समस्या वर्षौँदेखिको भए पनि यसपटक स्थानीयहरू ‘पिच नभएसम्म नखुल्ने’ अडानमा छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै