टोखा, कात्तिक २१/ टोखा नगरपालिकाको वडा नं. ३ र आधारभूत स्वास्थ्य सेवा केन्द्र टोखा ३ सरस्वती, काठमाडौंको संयुक्त आयोजनामा : टोखा नगरपालिका वडा नं. ३ को कार्यालय, सरस्वतीमा यही कात्तिक २२ गते शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिने यस शिविरमा डाक्टरहरूको परामर्श सहित कलेजो र मृगौला राेग परीक्षणदेखि औषधि वितरणसम्मका सेवा निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रका अनुसार यस कार्यक्रममा टोखा सरस्वती स्वास्थ्य चौकी र चिरायु नेशनल हस्पिटल बसुन्धरा काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन हुने कलेजो र मृगौला राेग विशेषज्ञ टोली समेत सहभागी हुनेछन्। शिविरमा करिब ३० वर्ष भन्दा माथि उमेरका नागरिकको कलेजो र मृगौलाको स्वास्थ्य परीक्षण गर्नेछन् भने अन्य स्थानीय बासिन्दाले पनि निःशुल्क सेवा लिन सक्ने स्वस्थ्य केन्द्रले जनाएको छ।
निःशुल्क स्वास्थ्य सेवा शिविरमा उपलब्ध सेवाहरुमा
निःशुल्क मृगौलाको कार्य परीक्षण (RFT)
निःशुल्क कलेजोको कार्य परीक्षण (LFT)
निःशुल्क भिडियो एक्सरे
निःशुल्क इसिजी
निःशुल्क मृगौला तथा कलेजोको रोग सम्बन्धी विशेषज्ञ परामर्श
निःशुल्क औषधि वितरण सेवा रहेका छन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र टोखा–३ सरस्वतीका जनस्वास्थ्य निरीक्षक सञ्जिव कुमार पटेलले स्थानीय समुदायमा स्वास्थ्य सचेतना र पहुँच विस्तार गर्ने लक्ष्यसहित शिविर आयोजना गरिन लागेको बताए । उहाँका अनुसार कुल १५० जनाको स्वास्थ्य परीक्षण गरिनेछ र इच्छुकले सोही दिन बिहान ८ बजेभित्र नाम दर्ता गर्न समेत अनुरोध गर्नुभयो ।
टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले स्थानीय बासिन्दालाई मृगौला र कलेजो परीक्षण गरी स्वास्थ्य लाभ लिन आग्रह गरेका छन्। उनका अनुसार यो विशेष स्वास्थ्य शिविर स्वास्थ्य सचेतना अभिवृद्धि र सेवा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
वडाध्यक्ष डंगोलले भन्नुभयो – “स्वास्थ्य हाम्रा जीवनका सबैभन्दा मूल्यवान् सम्पत्ति हुन्। हरेक नागरिकले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने हाम्रो साझा जिम्मेवारी हो। मृगौला र कलेजोका समस्या ढिलो पत्ता लाग्दा गम्भीर नतिजा आउन सक्छ, त्यसैले यस शिविरमार्फत हामी स्वास्थ्य सचेतना बढाउँदै सेवा सबैसम्म पुर्याउने लक्ष्य राखेका छौं।”


