• TOKHA LIVE

    • १६ कार्तिक २०८२, शनिबार ०१:२७

    लाखे’ लाई ‘जोकर’ लेखिएको घटनापछि सामाजिक सञ्जालमा विरोध, प्रकाशकले माफी मागे

    काठमाडौँ, १५ कार्तिक / बालबालिकाका लागि तयार पारिएको एउटा किताबमा ‘लाखे’को तस्बिरमाथि ‘जोकर’ भनेर लेखिएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

    ‘सञ्जीवनी पब्लिकेसन एन्ड डिस्ट्रिब्युटर प्रालि’ले प्रकाशित गरेको सञ्जीवनी अल इन वान नामक पुस्तकमा अङ्ग्रेजी अक्षर “J for Joker” लेख्दै त्यससँग लाखेको चित्र राखिएको थियो । उक्त चित्र देखेपछि विशेषगरी नेवा: समुदायका प्रयोगकर्ताहरूले फेसबुक र टिकटकमा आपत्ति जनाउँदै लाखेलाई अपमान गरिएको भन्दै कडा प्रतिक्रिया दिएका थिए ।

    लाखे नेवा: समुदायमा भगवान् ‘शान्त भैरव’को रूपमा पूजा गरिन्छ । त्यसलाई ‘जोकर’को रूपमा प्रस्तुत गरिएको दृश्यले धेरैको धार्मिक र सांस्कृतिक भावना दुखाएको बताइन्छ ।

    विवाद फैलिएपछि प्रकाशन गृहले विज्ञप्ति जारी गर्दै त्रुटिप्रति माफी मागेको छ । कम्पनीका प्रबन्ध निर्देशक सरोज आचार्यले कुनै समुदायको आस्था र संस्कृतिमा चोट पुर्‍याउने उद्देश्य नभएको स्पष्ट पारेका छन् । उनले भने, “हामीले कुनै दुर्भाव राखेका छैनौं । गल्तीप्रति क्षमा चाहन्छौं र आगामी संस्करणमा यो त्रुटि सच्याउनेछौं।”

    प्रकाशनले बजारमा रहेका ती पुस्तकहरू फिर्ता पठाउन बिक्रेताहरूलाई आग्रह गरेको छ । साथै, भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाएको छ । यस घटनाले सामाजिक सञ्जालमा धार्मिक आस्थाप्रति सचेतता र सांस्कृतिक सम्मानको महत्वबारे पुनः चर्चा सुरु गरेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै