काठमाडौँ, १२ कात्तिक / नेपालले भारतलाई उसकै मैदानमा पराजित गर्दै महिला फुटबलमा महत्वपूर्ण जित दर्ता गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली भारतलाई रोमाञ्चक टाइब्रेकरमा ३–० ले हराएको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले सटीक प्रहार गर्दै गोल गरे भने गोलकिपर अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै भारतका पहिलो र तेस्रो पेनाल्टी रोकिन्। भारतको दोस्रो पेनाल्टी भने बाहिरिएको थियो।
खेलको पहिलो हाफमै दुवै गोल भएका थिए। ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाइन्।
यस जितसँगै नेपाली महिला फुटबल टोलीले भारतविरुद्धको प्रतिस्पर्धात्मक खेलमा आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै आगामी प्रतियोगिताका लागि उत्साहजनक संकेत दिएको छ।

