नविना श्रेष्ठ
कात्तिक ११, २०८२
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँको कमलपोखरीमा सम्पन्न छठ पर्वको पूजाआजामा सहभागी भएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी छन्।
नेपालको मधेस मूलका समुदायले विशेष रूपमा मनाउने छठ पर्वमा प्रधानमन्त्रीको सहभागिताले राष्ट्रिय एकता र सांस्कृतिक सहअस्तित्वको सन्देश दिएको जनाइएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरी पुगेर सूर्यदेव र छठी माताको पूजा–आराधना तथा अर्घ्यदान गरेका थिए। छठ पर्वका अवसरमा काठमाडौंका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायतका छठघाटहरू रंगीन बत्ती र फूलमालाले सजिएका छन्।
भक्तजनहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै परिवारको सुख, शान्ति र दीर्घायुको कामना गरिरहेका छन्।चार दिनसम्म चल्ने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ, जसमा उपवास, पवित्र स्नान, सूर्यको आराधना र अर्घ्यदान प्रमुख विधिहरू मानिन्छन्।

