काठमाडौँ, १० कात्तिक / राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सद्भाव र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
छठ पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “यस पर्वले वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्छ भन्ने मैले विश्वास लिएको छु।”
राष्ट्रपति पौडेलका अनुसार, सूर्य, जल र पृथ्वीप्रति श्रद्धा अर्पण गरी मनाइने छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्गमा अघि बढ्न सहयोग पुर्याउँछ ।
नेपालमा यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म श्रद्धापूर्वक मनाइन्छ । भक्तजनहरू खोला, पोखरी र तलाउको किनारमा व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य अर्पण गर्छन् ।
राष्ट्रपतिले थप भन्नुभयो, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै प्रकृतिप्रतिको आस्था र दायित्व बोध गराउने यस पर्वले पर्यावरणीय चेतना, पारिवारिक ऐक्यबद्धता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँछ।”

