• TOKHA LIVE

    • १० कार्तिक २०८२, आईतवार २०:५८

    विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग १०६ रनले पराजित

    काठमाडौँ, ९ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

    युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा अमेरिकाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। जवाफमा नेपाल ३९.१ ओभरमै १५६ रनमा समेटियो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए भने आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन जोडे। अन्य खेलाडी भने दोहोरो अंकसम्म पुग्न सकेनन्।

    बलिङतर्फ अमेरिकाका हर्मित सिंहले घातक प्रदर्शन गर्दै ६ विकेट हात पारे। त्यस्तै, शुभम् रञ्जनेले २ र रुशिल उगारकरले १ विकेट लिए।

    यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिकाका स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए। उनले १०० बलमा ९ चौकाको सहायताले खेली टीमलाई स्थिर सुरुवात दिलाए। मिलन्द कुमारले अविजित रहँदै ५० बलमा ६ चौका र २ छक्कासहित ७० रनको योगदान दिए। सैतेजा मुक्कामल्लले ४२ तथा शुभम् रञ्जनेले १९ रन जोडे।

    नेपालका बलरमध्ये सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट झारे।

    यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ। लगातार हारपछि नेपाल १७ खेलबाट १२ अङ्कसहित सातौँ स्थानमा झरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै